नेपाली साहित्य समाज न्युजिल्यान्ड तथा विश्व भुटानी साहित्यिक संगठन न्युजिल्यान्डको संयुक्त आयोजनामा न्युजिल्यान्डबासी नेपालीभाषी स्रष्टाहरूबीच प्रथम अनलाइन साक्षात्कार कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा एक दर्जन भन्दा धेरै स्रष्टाहरूले रचनावाचन एवं शुभकामना व्यक्त गर्नुभएको थियो । विजया दशमी, शुभ दिपावली, छठ, उधौली तथा नेपाल संवत् ११४२ को अवसरमा स्रष्टाहरूबीच औपचारिक भेटघाट, परिचय एवं शुभकामना आदनप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा विश्व भुटानी साहित्यिक संगठनका केन्द्रीय उपाध्यक्ष गोपाल पौडेलले उक्त कार्यक्रम धेरै पहिलादेखि भौतिक रूपमा सम्पन्न गर्ने तयारी गरिएता पनि कोभिड र अन्य प्रतिकूलताले यसरी अनलाइन गर्नुपरेको बताउनुभएको थियो । साझा भाषा बोकेर प्रवासमा संघर्षरत स्रष्टाहरूलाई सामूहिक रूपमा अगाडि बढ्न कार्यक्रमले ऐतिहासिक जग बसाएको स्रष्टा पौडेलले उल्लेख गर्नुभएको थियो । नेपाली साहित्य समाजका अध्यक्ष सञ्जय शान्ति सुबेदीले नेपालीभाषी भुटानीहरूले नेपाली भाषा र साहित्यको उत्थान तथा प्रवर्द्धनमा गरेको सतत् प्रयास तथा आत्मीय सम्बन्धको चर्चा गर्दै आगामी दिनहरूमा पनि यसरी नै मिलेर कार्यक्रम गर्न सुझाउनुभएको थियो ।

कार्यक्रममा गैरआवासीय संघका अध्यक्ष उद्धव अधिकारी, साहित्य समाजका सल्लाहकार श्रीधर बस्न्यात, रेडियोकर्मी टीका रेग्मी, साहित्य समाजका पदाधिकारीहरू लगायत भुटानी तथा नेपाली स्रष्टाहरूको उपस्थिति थियो भने कार्यक्रम नेपाली साहित्य समाजको फेसबुक पेजबाट लाइभ प्रसारण गरिएको थियो ।