कोभिड–१९ र स्वास्थ्यजन्य फोहोर व्यवस्थापनबारे सचेतना फैलाउने काम गरिरहेको मैनादेवी फाउन्डेसन र युएनडिपी नेपालको साझेदारीमा “सचेतनाः हाम्रो स्वास्थ्य, हाम्रो जिम्मेवारी” परियोजनाअन्तर्गत आयोजित सचेतना कविता प्रतियोगिता कार्तिक ९ गते, मङ्गलबार सम्पन्न भएको छ । कविता प्रतियोगिता भर्चुअल माध्यमबाट गरिएको थियो ।

यसअघि पनि सचेतना फैलाउन टिकटक च्यालेन्ज प्रतियोगिता पनि सञ्चालन गरिसकेको र पछि साहित्यको माध्यमबाट पनि समाजमा सचेतना फैलाउन सकिन्छ भनेर उक्त कविता प्रतियोगिता आयोजना गरिएको अध्यक्ष खनालले बताउनुभयो ।

देशभरिबाट १५० जनाले प्रतियोगितामा सहभागिताका लागि आफ्नो नाम दर्ता गराउनुभएको थियो भने जम्मा ७७ जना कविले आफ्नो कविता वाचन गरी भिडियो पठाएर सहभागिता जनाएकोमा अन्तिम चरणमा वाचनका लागि १५ वटा कविता छनोट भएको कुरा कार्यक्रम सञ्चालक तथा मैनादेवी फाउन्डेसन, कपिलवस्तुका स्वयंसेवक सरोज घिमिरेले जानकारी दिनुभयो ।

साथै उहाँले भन्नुभयो,“यस सचेतना कविता प्रतियोगिताको मुख्य लक्ष्य कविताको माध्यमबाट कोभिड–१९ र स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको बारेमा सचेतना एवम् जागरूकता फैलाउनु रहेको छ । कविता साहित्यको यस्तो पाटो हो, जसले प्रभावकारी ढङ्गमा भावना र सन्देश फैलाउने क्षमता राख्दछ । सचेतना कविता प्रतियोगिताको माध्यमबाट देशका कुनाकाप्चामा जागरूकता फैलिनेछ भन्ने कुरामा हामी विश्वस्त छौ ।”

भर्चुअल माध्यमबाट भएको सचेतना कविता प्रतियोगितामा विक्रमपवन परियार, आरती आचार्य, निर्भिकजङ्ग रायमाझी र शिवराज खनालको निर्णायक मण्डलबाट प्रारम्भिक चरणमा जम्मा ७७ जना सहभागी प्रतियोगीहरूमध्ये उत्कृष्ट १५ जनामा छनोट हुन सफल आकृति खनाल(बर्दिया), अचुत चापागाईं(धनकुटा), अन्जीला पाण्डे(अर्घाखाँची), अमन शर्मा(पिपरा –०७), उत्सिका आचार्य(रौतहट), गरिमा पाण्डेय(दैलेख), प्रविन खड्का(सुनसरी), राजकुमार पौडेल(प्युठान), वसन्त अनुभव(दाङ), शिवराज कलौनी(बैतडी), समीक्षा न्यौपाने(ताप्लेजुङ), समिन गैरे(रुपन्देही), सरोजकुमार महतो(धनुषा), सुजाता बस्याल(पाल्पा) र सृष्टि सापकोटा(नवलपरासी)ले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो ।

सचेतना कविता प्रतियोगितामा वाचन गरिएका कविताहरूमध्येबाट रुपन्देहीका कवि समिन गैरेको “कोभिड, प्रकृति र मान्छे” शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको छ । यसैगरी दैलेखकी कवि गरिमा पाण्डेयको “कोरोना, स्वास्थ्य र सचेतना” शीर्षकको कविताले द्वितीय स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै बैतडीका कवि शिवराज कलौनीको “कोरोना, सचेतना र स्वस्थ आहार विहार” शीर्षकको कविताले तृतीय स्थान प्राप्त गरेको छ । साथै प्युठानका कवि राजकुमार पौडेलको “रोग, फोहोर र फोहोरी” र नवलपरासीकी कवि सृष्टि सापकोटाको “कोरोना र प्रदूषण“ शीर्षकका कविताले सान्त्वना प्राप्त गरेका छन् भने कविता वाचनमा आदिवासी भाषाको कुशल प्रयोग गरी कवितामा स्वास्थ्यजन्य फोहोरको विस्तृत जानकारी दिएकाले बर्दियाकी कवि आकृति खनाललाई विशेष सम्मान प्रदान गरिएको छ ।

कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना र विशेष सम्मानजनक स्थान प्राप्त गर्ने प्रतिभाहरूलाई क्रमशः नगद रु १०,०००, ७,०००, ५,०००, ३,००० र २,५०० सहित उपहार प्रदान गर्ने व्यवस्था रहेको कुरा सम्बद्घ पक्षबाट जानकारी प्राप्त भएको छ ।

सचेतना कविता प्रतियोगिताको अन्तिम चरणको कविता छनोट समितिको संयोजक तथा प्रमुख निर्णायकको भूमिकामा बालसाहित्यको उत्थानका लागि अतुलनीय योगदान पु-याउनुहुने नेपाली साहित्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहित्यकार प्रभा भट्टराई र लेखक तथा युवा कवि मनोज विश्वकर्मा रहनुभएको थियो । साहित्यकार प्रभा भट्टराईले नेपाली र अन्य स्थानीय भाषामा रचित सचेतनामुलक मौलिक कविता वाचन गरेकोमा सम्पूर्ण प्रतियोगीहरूलाई धन्यवाद दिँदै आफूले पनि सबै मातृभाषाको सम्मान गर्ने कुरा बताउनुभयो । गीत र कविताका माध्यमबाट समाजमा सचेतना छिटो फैलिने भएकाले यो कार्यक्रम अत्यन्त प्रभावकारी रहेको कुरासमेत साहित्यकार भट्टराईले उल्लेख गर्नुभएको थियो । साथै उहाँले साना बालबालिकालाई लक्षित गरी आफ्नो “छुच्ची कोरोना” शीर्षकको बालकविता पनि वाचन गर्नुभएको थियो ।

प्रतियोगितामा सहभागी हुनका लागि कुनै उमेर समूह र शैक्षिक योग्यता निर्धारण नगरिएको यस प्रतियोगितामा देशका सबै क्षेत्रका जातजाति र भाषाभाषीको सहभागिता भएकोमा सन्तोष व्यक्त गर्दै कार्यक्रम संयोजक स्मृति भट्टराईले आफ्नो समापन मनतव्यसहित सहभागिहरूलाई धन्यवाद दिई कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।