लकडाउनका अवसरमा घरै बसेका कविहरूका बीचमा आपसी चिनारी र रचना पाठसमेत गर्ने हेतुले गत बुधबार २०७७ जेठ ७ साँझ नेपाल स्रष्टा समाजबाट नारायणी गण्डकीका स्वरहरू शीर्षकमा एक अनलाइन साहित्यिक गोष्ठीको आयोजना गरियो ।
साँझ ८ बजेदेखि कम्प्युटरर मोबाइलबाट अनलाइन (भिडियो कन्फ़ेरेन्सिङ्ग) विधिमा सञ्चालित कार्यक्रममा चितवन नवलपुर क्षेत्रका साहित्यकारहरू ऋषिप्रसाद लामिछाने, किसान प्रेमी, खुमनारायण पौड्याल, गिरिराज डल्लाकोटी, जीवा लामिछाने, धनराज गिरी, बालकृष्ण थपलिया, रचना शर्मा, रमेश प्रभात, लक्ष्मणप्रसाद गौतम, लीला दहाल, सुमन घिमिरे, सुरेन्द्र अस्तफल, हरिहर खनाल, तथा समाजका पुष्पा खनाल, नवराज पुडासैनी ज्योत्स्ना र पत्रकार राजेश खनाल आदिको सहभागिता रहेको थियो ।
कार्यक्रममा कविता, गजल, गीत, लघुकथाहरू वाचन, गायनका साथै चितवनले नेपाली साहित्यिक र लोकतान्त्रिक आन्दोलनमा खेलेका भूमिकाको चर्चा गरिएको थियो ।
सो कार्यक्रमका आरम्भमा समाजका अध्यक्ष विधान आचार्यले रामायणका दुई श्लोक वाचन गरे ।
सञ्चालन अनौपचारिक तरिकाले गरियो । सबै सर्जकहरूले सङ्क्षिप्त परिचयसहित रचना वाचन गरे । अन्त्यमा वाचित रचनामाथि समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमबाट समीक्षा गरियो भने समाजका महासचिव पुष्पा खनालले सहभागीलाई धन्यवाद प्रदान गरिन् । कार्यक्रम लगभग दुईघण्टा चलेको थियो ।