उपन्यासकार नीलम कार्की निहारिकाद्वारा लिखित पछिल्लो उपन्यास कृति ‘द्रौपदी अवशेष’माथि विमर्श गरिएको छ । सोमबार काठमाडौँमा लोकवार्ता परिषद् द्वारा आयोजित एक कार्यक्रमका बीच उपन्यासमाथि गहन विमर्श गरिएको हो ।
कार्यक्रमका वक्ता प्रतिनिधिसभा सांसद छक्कबहादुर लामाले उपन्यासले हुम्लाको यथार्थपरक र गम्भीर विषय उठान गरेको बताउनुभयो । पौराणिककालीन पात्र द्रौपदीसँग जोडिएको सामाजिक परम्परा हुम्लामा अझै पनि कायम रहेको बताउँदै सांसद लामाले हुम्लाको सामाजिक परिवेश बाहिर ल्याएकोमा उपन्यासकारलाई बधाई दिनुभयो । यो कुसंस्कार भए पनि अद्यावधि अवशेषको रुपमा रहेको उनको भनाइ थियो । उपन्यासमा उल्लेख भएका पात्र, परिवेश, विषयवस्तु र घटनाक्रम यथार्थपरक भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै अर्का वक्ता प्रा.डा. वीणा पौड्यालले संस्कृतिसँग जोडिएको विषय उठान गरेको भन्दै उपन्यासकारलाई बधाई दिनुभयो । उपन्यासले कला, संस्कृति, पर्यटन, धर्म आदि बहुविषय पनि उठान गरेको उहाँको भनाइ थियो । बहुपति प्रथा नै उपन्यासको मुख्य विषयवस्तु भएको उहाँले बताउनुभयो । सामाजिक कुरीतिको रुपमा अन्य समाजले मानेको विषयलाई बाहिर ल्याउनु कठिन कार्य भएको बताउँदै उहाँले सो चुनौती लिन उपन्यासकार तयार भएकोमा गर्व लागेको जनाउनुभयो । उपन्यासमा महिलाको विषय उठान गर्न महिला लेखक भएकाले नै अझ सशक्त भएको उहाँको भनाइ थियो । उपन्यासकार कार्कीको लेखन खारिँदै गएको भन्दै उहाँले भाषाशैली, कथा बनोट सरल र सहज भएको उल्लेख गर्नुभयो । उपन्यास समग्रमा उत्कृष्ट र सफल भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रा.डा. सावित्री मल्ल कक्षपतिले पछिल्लो समय अनुसन्धानमूलक कृतिका लेखक र पाठकको संख्यामा वृद्धि भएको बताउनुभयो । ‘द्रौपदी अवशेष’ पुस्तकको बाहिरी तस्विर नै उत्कृष्ट र प्रभावकारी भएको उहाँको भनाइ थियो ।
हुम्लामा बहुपति विवाहलाई द्रौपदी विवाह भन्ने गरेको उल्लेख गर्दै द्रौपदी अवशेष त्यहाँ अद्यावधिक रहेको उहाँले बताउनुभयो । महिलाहरू पीडित हुने क्रम अझै पनि रहेको भन्दै त्यही कुरालाई उपन्यासले उठान गरेको उहाँको भनाइ थियो । महिलालाई मानसिक भय दिएर परम्परा कायम राखेको उहाँको टिप्पणी थियो । एउटी महिलाले पाँच जना एकै घरका दाजुभाइसँग विवाह गर्नुपर्ने र सबैलाई समान व्यवहार गर्नुपर्ने नगरे पाप लाग्ने, नर्क जानेजस्ता भ्रम देखाएर महिलामाथि हिंसा भइरहेको उहाँको भनाइ थियो । यही महिला पीडाको विषय उपन्यासकारले उठान गरेको उहाँले बताउनुभयो ।
उपन्यास पढ्दा त्यही भूगोल र परिवेशमा पाठकलाई पुर्याउने र सँगसँगै घुमाउने पनि उहाँको अनुभव थियो । उपन्यासमा यथार्थता र विविधता भएको भन्दै उपन्यास पढ्दा बागलुङमा गएर टिमुर हालेको, जिम्बुले झानेको थकाली खाना खाएजस्तो चखिलो भएको कक्षपतिले बताउनुभयो ।
यो उपन्यासमा चलचित्र बन्नसक्ने बलियो सम्भावना भएको समेत उहाँले बताउनुभयो तर चलचित्र बनाउन हतार नगर्न पनि उहाँले उपन्यासकार कार्कीलाई आग्रह गर्नुभयो । बीपी कोइरालाको ‘तीनघुम्ती’ उपन्यास र ‘परिबन्ध’ कथा चलचित्र बनाउँदा बिग्रिएको भन्दै यो उपन्यासलाई चलचित्र बनाउनुअघि गम्भीर बन्न उपन्यासकारलाई उहाँको आग्रह थियो ।
कार्यक्रमका अर्का वक्ता डा. धनप्रसाद सुवेदीले आञ्चलिक उपन्यासमध्ये यो पनि एक सशक्त उपन्यास भएको बताउनुभयो । शंकर कोइरालाको खैरेनीघाटदेखि अहिले नीलम कार्की निहारिकाको ‘द्रौपदी अवशेष’ केही भिन्न पहिचान भएका आञ्चलिक उपन्यास भएको उहाँको भनाइ थियो ।
हुम्लाको प्रगतिशील समाजमा विद्यमान बहुपति परम्परालाई आधार बनाएर सफल उपन्यास लेखन भएको उहाँको भनाइ थियो । बहुपति परम्परा ठीक वा बेठीक भन्नु भन्दा पनि उपन्यासकारले चलाखीपूर्ण तरिकाले यसको यथार्थता र सीमा देखाउने काम गरेको उहाँले बताउनुभयो । उपन्यासमा प्रेम, जीवन र स्वतन्त्रताजस्ता विषयलाई बढो रोमाञ्चक ढंगले व्याख्या गरिएको उल्लेख उहाँले गर्नुभयो ।
कार्यक्रममा बोल्दै उपन्यासकार नीलम कार्की निहारिकाले रचनागर्भ, विषयवस्तुको छनौट, लेखन र विमर्शसम्मका विषयमा आफ्नो भनाइ राख्नु भएको थियो । लेखकले जुन सोचका साथ लेख्छ, पाठकले सोही रुपमा बुझिदिँदा भने लेखन सफल भएको महसुस हुने उहाँको अनुभव थियो । पाठक र समालोचकको सकारात्मक प्रतिक्रियाबाट आफू अत्यन्तै उत्साहित रहेको बताउँदै उहाँले विषयवस्तु छनौटप्रति गर्व लागेको बताउनुभयो । हुम्लामा अवशेषको रुपमा रहेको बहुपति प्रथाको उठान गम्भीर भएकोले पनि गलत र सही भन्नु भन्दा पनि यथार्थ बाहिर ल्याउने प्रयास गरेको उहाँको भनाइ थियो ।
कार्यक्रमका सभापति तथा लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्रा.डा. प्रेमकुमार खत्रीले धेरै पहिले आफूले पनि यस्तै विषयलाई पुस्तकको रुपमा बाहिर ल्याउन प्रयास गरे पनि डर र धम्कीका कारण थन्किएको भन्दै साहित्यको माध्यमबाट सो विषय बाहिर आएकोमा खुसी लागेको बताउनुभयो । उपन्यासकार कार्कीले अनुसन्धानमूलक कृति प्रकाशन गरेको र त्यसमा पनि संस्कृतिलाई मुख्य विषयवस्तु बनाएकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा जुम मार्फत अमेरिकाबाट जोडिएका ईश्वर देवकोटाले पनि आफ्नो छोटो मन्तव्य राख्नु भएको थियो । सीमित सहभागीहरूका बीचमा भएको कार्यक्रमलाई लोकवार्ता परिषद् नेपालका महासचिव डा. भक्त राईले सहजीकरण गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।