अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल गण्डकी प्रदेशले अनेसासका पूर्व अध्यक्ष तथा बिओटी उपाध्यक्ष वरिष्ठ साहित्यकार पदम विश्वकर्मालाई सम्मान अर्पण गरेको छ ।

समितिले सोमबार एक समारोहका बीच शुभकामना आदानप्रदान, पुस्तक अन्तरक्रिया तथा स्रष्टा भेटघाट समारोहका बीच सम्मान अर्पण गरेको हो ।

समितिका अध्यक्ष दुर्गाबहादुर शाह बाबा र सदस्य डा. कालु शर्मा सुबेदीले विश्वकर्मालाई सम्मान अर्पण गर्नुभयो ।

सम्मानित प्रतिभा विश्वकर्माले बाध्यताले परदेशमा गए पनि मन सधैँ घरदेशमा हुने बताउनुभयो । शुक्रबार सार्वजनिक भएको आफ्नो औपन्यासिक कृति क्वारेन्टाइनको रचना गर्भ सुनाउँदै उहाँले सुविधा सम्पन्न राज्यमा मान्छे उपचार नपाएर पकापक मरेको दृश्य देख्नुपर्दाको दर्दनाक अवस्थाले सर्जक मन भक्कानिएर आफैँ रुँदै, आफैँ लेख्दै कृति तयार भएको बताउनुभयो ।

अनेसास गण्डकी अध्यक्ष दुर्गा शाह बाबाले वर्तमानमा धन खोज्दा पाइने तर समय नपाइने भएकाले आफ्नो कार्यव्यस्तताका बाबजुद पनि अनेसास गण्डकीलाई समय प्रदान गरेकामा आभार व्यक्त गर्दै साहित्यिक यात्राको सफलताको कामना गर्नुभयो ।

डा. कालु शर्मा सुबेदीले कोरोना महामारीका बीचको विषम परिस्थितिलाई अवसरका रुपमा बदलेर कृति प्रकाशन गर्नु आफैँमा खुसीको कुरा भएको बताउनुभयो ।

अनेसास महासचिव असफल गौतमले क्वारेन्टाइन पढ्दा कोरोना पीडित बनेका हरेक पाठकका आँखा रसाउने कृतिका रुपमा बजारमा आएको बताउनुभयो । उहाँले विश्वकर्माको उपन्यास लेखन पहिलो भए तापनि सरल, सरस र सहज भाषाशैलीले गर्दा पाठकको मन जित्न सफल हुने धारणा राख्नुभयो ।

अनेसास कास्की संयोजक रवीन्द्र माकाजुले सम्मानित स्रष्टाको साहित्यिक यात्राको थप सफलताको कामना गर्नुभयो । उहाँले सुखी र खुसी मान्छेको चेहेरै हँसिलो हुने र हँसिलो चेहराले व्यक्तिका दुःख पनि बिर्साइदिने बताउँदै सदा अनुहारमा खुसी, जीवनमा सुखी रहेको देख्न पाइयोस् भन्ने कामना गरे ।

कार्यक्रममा अनेसास गण्डकीका कोषाध्यक्ष गीता तिवारी गौतम, कार्यसमिति सदस्य कल्याण पन्त, कृष्ण सारथि, ऋषि बराल, आजीवन सदस्य अम्बिका भण्डारी, प्राध्यापक बलराम पराजुलीलगायतले बोल्नु भएको थियो ।

वक्ताले कविता, कथा लगायतका विधामा कलम चलाउँदै आउनुभएका विश्वकर्माको क्वारेन्टाइन पहिलो औपन्यासिक कृति भए पनि अमेरिकाकै कोरोना महामारीलाई पृष्ठभूमि बनाएर लेखिएकाले पठनीय कृति रहेको धारणा राख्नुभएको थियो । कृतिलाई सांग्रिला बुक्सले प्रकाशन गरेको छ ।