साहित्यकार विजय सागरलाई लघुकथा समाज नेपालले २०७७ सालको ‘पद्मा रामचन्द्र लघुकथा सम्मान’ अर्पण गरेको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच स्रष्टा सागरलाई वरिष्ठ नाट्यकर्मी अशेष मल्ल तथा प्रा. डा. लक्ष्मणप्रसाद गौतमले सम्मानपत्र अर्पण गर्नुभयो । सम्मानपत्रका साथ नगद राशि १० हजार १०१ रुपैयाँ रहेको छ ।

भैरहवामा रहेर लामो समयदेखि साहित्य सेवामा लाग्नु भएका स्रष्टा विजय सागरलाई २०७७ सालको सम्मान अर्पण गर्ने निर्णय गरिए पनि कोभिड–१९ को असहज परिस्थितिका कारण सम्मान अर्पण गर्ने अवसर जुरेको थिएन ।

कार्यक्रममा स्रष्टा विजय सागरले आफ्नो लेखन यात्राका पुराना दिन स्मरण गर्दै लघुकथा लेखनको चर्चा गर्नुभयो । उहाँले लघुकथा बस कुर्दाकुर्दै पढ्न सकिने, चिया पिउने समयमा सिध्याउन सकिने हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र सचिव तुलसीहरि कोइरालाले पनि आफ्ना धारणा राख्नु भएको थियो ।