भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा नेपाली भाषाको पहिलो एफएम स्टेसन सञ्चालनमा आएको छ । रेडियो घामछायाँ नामक सो एफएम स्टेसनलाई उत्तराखण्ड राज्यका राज्यपाल रिटायर्ड लेफ्टिनेन्ट जनरल गुरमित सिंहले उद्घाटन गर्नुभएको थियो ।
हाललाई म्युजिक नेपालले उपलब्ध गराउने गीतसङ्गीत तथा विभिन्न कार्यक्रम प्रस्तुत गरिदैछ भने भविष्यमा देहरादुनका अन्य भाषिकाहरू गढवाली, कुमाउनी, जौनसारी भाषामा कार्यक्रमहरूसमेत सञ्चालन गरिने बताइएको छ ।
गएको २१ अक्टोबरबाट शुरू गरिएको यो रेडियो हाल बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रसारण हुने बताइएको छ ।
एफएमबाट मात्र नभई रेडियो घामछायाँ वेबसाइटमार्फत संसारभर सुन्न सकिने गरी बनाइएको छ । ९०.० मा यो भारतभर सुन्न सकिने तथा गुगल प्लेस्टोरबाट एप पनि डाउनलोड गर्न सकिने बताइएको छ ।
गोरखा सामुदायिक रेडियो स्टेसनका रूपमा रेडियो घामछायाँ पत्रकार, लेखिका तथा सेवानिवृत्त लेफ्टिनेन्ट जनरल शक्ति गुरूङकी पत्नी मधु गुरूङको सक्रियतामा यो खुलेको हो । यसलाई पिएस गुरूङले आफ्ना सहिद पुत्र लेफ्टिनेन्ट गौतम गुरूङ ट्रस्ट बनाई सोही ट्रस्ट अन्तर्गत सञ्चालन गर्ने गरी स्थापना गरिएको हो ।
रेडियोमा आध्यात्मिक, वीरगाथा, महिला तथा स्वास्थ्य, करियर परामर्श, नेपाली लेखक तथा तिनका कार्यसँगै अन्य कार्यक्रमहरू समेत प्रसारणा गरिने बताइएको छ ।
यसको उद्देश्य नेपाली भाषा, संस्कृति, विरासत, इतिहास तथा नेपाली गीतसंगीतको संरक्षण गर्नु रहेको बताइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।