वरिष्ठ कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यता र विशिष्ट कविहरू प्रभा भट्टराई, भीष्म उप्रेती, टंक भट्टराई लगायत कविहरूको गरिमामय उपस्थितिमा हालै भर्चुअल माध्यमबाट १८० औँ कवितायात्रा सम्पन्न भयो।
ज्योति साहित्य प्रतिष्ठान काठमाडौंका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा भएको कार्यक्रममा गंगा लिगल(भैरहवा), देवीका मग्रान्ती(दार्जिलिङ ), महेश राज खरेल, घनश्याम पौडेल( पोखरा), राधिका गुरागाई (बिराटनगर), मीना देवकोटा( लालबन्दी), द्वारिका कुइकेल,चन्द्रा न्यौपाने, सीता विष्ट कार्की, सरस पाण्डे, सुधा बास्कोटा ढकाल, शारदा आचार्य, असीम सागर, गंगा आचार्य सापकोटा, रश्मी रिमाल, सुधा मिश्र झा, संगीता ठाकुर, लक्ष्मीप्रसाद मिश्र (लमजुङ ), लक्ष्मी खड्का (विराटनगर), रेणु घिमिरे ( सिरहा)समेतले आआफ्ना कविता वाचन गर्दै कार्यक्रममा आकर्षण थप्नु भयो।
प्रमुख अतिथि शैलेन्द्र साकारले निकट भविष्यमा आउन लागेको उहाँको नयाँ कवितासङ्ग्रह ‘अरु सात समुन्द्रहरू’ बाट एउटा कविता वाचन गर्दै ज्योति साहित्य प्रतिष्ठानको नेपाली साहित्यको फाँटमा बेग्लै महत्व रहेको कुरामा प्रकाश पार्नु भयो।
त्यस्तै विशिष्ट अतिथि कवि प्रभा भट्टराईले सुमधुर स्वरमा कविता वाचन गर्दै ज्योतिको कवितायात्राको विशेष महत्त्व रहेको कुरा व्यक्त गर्नु भयो। कवि भिष्म उप्रेती र कवि टंक भट्टराईले कविता वाचन गरी सभालाई मन्त्रमुग्घ पार्नु भयो।
सभापति मणिराज सिंहले ज्योति साहित्य प्रतिष्ठानको १८०औँ कवितायात्रामा सबै अतिथि कविहरू प्रति आभार प्रकट गर्नु हुँदै अहिले देशमा वर्षा,बाढी र पहिरोले १०० जना जतिको ज्यान गएको, अझै केही बेपत्ता नै रहेको, कृषकको खेतमा पाक्दै गरेको धान बाली नष्ट भएर निकै क्षति पुग्न गएको प्रति चिन्ता र दु:ख प्रकट गर्दै नेपाल सरकार र स्थानीय सरकारले यसप्रति बिशेष राहतको व्यवस्था गर्नु पर्दछ र गर्नेछ भनी आशा गर्नु भयो। ज्योति साहित्य प्रतिष्ठानको कवितायात्राको कार्यक्रम नियमित रुपमा प्रत्येक महिनाको पहिलो शुक्रबार हुनेछ भनी सिंहले थप्नु भयो।
उहाँले अन्त्यमा ‘आत्महत्या’ कविता पनि वाचन गर्नु भयो। कार्यक्रमको संचालन कवि सुशिला ढकाल अधिकारीले गर्नु भएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।