अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति “क्वारेन्टाइन” उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजनिक गरियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, अनेसास बोर्ड परिषदका अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतम, अनेसास बोर्ड परिषदका सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइँटेल, वरिष्ठ आख्यानकार पुष्कर लोहनी, साहित्यकार रामप्रसाद दाहालले कृतिलाई सार्वजनिक गर्नुभयो ।

उपन्यासमाथि टिप्पणी गर्दै कुलपति  उप्रेतीले उपन्यास सरल भाषामा रहेर पनि नयाँ तथा समसामयिक विषय समेटेको बताउनुभयो ।

दुई वर्षदेखि विश्वभरि मानवजातिलाई आक्रान्त पारेको कोरोना भाइरसले दिएको पीडालाई समेटिएकाले उपन्यास ऐतिहासिक कृतिको रूपमा स्थापित भएको उहाँको भनाइ थियो ।

प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यको विकास र प्रवर्धनमा विश्वकर्माले पुर्‍याएको योगदान अतुलनीय रहेको उप्रेतीले सहाराना गर्नुभयो ।

उपन्यासमाथि समीक्षा गर्दै सञ्चारकर्मी तथा समीक्षक राजकुमार बानियाँले उपन्यासमा कोरोना भाइरसको पहिलो लहरमै अमेरिकामा रहेका नेपालीले भोगेको पीडाको वर्णन समावेश भएको बताउनुभयो ।

पुस्तकमा आदर्श र यथार्थको फ्यूजन, आख्यान र गैरआख्यानको स्वाद रहको समीक्षक महेश पौड्यालको टिप्पणी थियो ।

पदम विश्वकर्मा

आफ्नै कृतिमाथि बोल्दै साहित्यकार विश्वकर्माले कोरोना भाइरसको कारण अमेरिकामा नेपालीले भोग्नुपरेको कारुणिक पीडा उपन्यासमा समेटेको बताउनुभयो । कोरोनाको कारण मृत्यु भएपछि आफन्तले छुन र हेर्न नपाएका पीडाहरू र प्रदेशबाट शव आफ्नो देशमा ल्याउन नपाउँदाको पीडा समेत समेटिएको बताउनुभयो ।

‘अस्पतालमा लाशको खातले लाश राख्ने ठाउँ थिएन, ती कोलाहलपूर्ण दृष्य देखेँ, त्यसपछि यो विषयमा लेख्नुपर्छ भन्ने लागेर लेखेको हुँ,’ उहाँले आफ्नो कर्मथलो अमेरिकाको कोलोराडोको घटना स्मरण गर्दै भन्नुभयो । उहाँले उपन्यास लेख्दालेख्दै धेरै पटक भावुक भएको स्मरण पनि गर्नुभयो ।

साहित्यकार गीता खत्रीले उपन्यास भोक्ता भएर लेखिएको हुनाले मौलिकपन रहेको र विश्वको कालखण्डको महामारीलाई समेट्न सफल भएको बताउनुभयो । ‘यो कृति पढ्दा म त्यही घटनाको स्मरण भए र रातभरि सुत्न सकिनँ,’ उहाँले भन्नुभयो । विश्वकर्माले पछिल्ला साहित्यिक कृतिहरूले अघिल्ला कृतिहरूभन्दा बलियो बनेर आइरहेको उहाँको टिप्पणी थियो ।

अनेसास नेपाल च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रममा डा. लक्ष्मणप्रसाद गौतम, प्राडा. खगेन्द्रप्रसाद लुइटेल, राधेश्याम लेकालीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन साहित्यकार सुमन वर्षाले र स्वागत गीता कार्कीले गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरू जीवा लामिछाने, कृष्ण धरावासी, प्रतीक ढकाल, अनेसास केन्द्रीय समितिका उपाध्यक्ष बाबा बस्नेत, सचिव विमला निरौला, सदस्य डा. रेणुका सोलु, अनेसासका पूर्व उपाध्यक्ष प्रकाश नेपाल, अनेसास बोस्टन च्याप्टरकी अध्यक्ष दीपा राई पुन, साहित्यकारहरू रामप्रसाद दाहाल, लीला लुइँटेल, मीरा गोतामे, नेत्रबन्धू पोख्रेल आदिको पनि उपस्थिति रहेको थियो।

अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा अनेसास नेपाल च्याप्टरका उपाध्यक्षहरू दिव्य गिरी, राजेन्द्र के.सी., गीता कार्की, गीता मैनाली, सरिता अर्याल तथा सदस्यहरू मन्जिला अनिल, रमेश दाहाल, कमला रिसाल, सुमन वर्षा, मधु पाठक, अर्जुन थापा लगायतको पनि उपस्थिति थियो।