साहित्यपोस्टको अमेरिका संयोजकमा तेज विनोद नियुक्त हुनु भएको छ । साहित्यपोस्टको स्थापनाकालदेखि नै आर्थिक व्यवस्थापनसँग नजिक रहनु भएका विनोद अबदेखि साहित्यपोस्टको लेख रचना शाखालाई अमेरिकी-नेपाली लेखक–कविसँग नजिक बनाउन सहयोग गर्नु हुनेछ ।
स्कुले अध्ययनताका नै साहित्यमा रुचि राख्ने तेज विनोदको खास नाम विनोद पौडेल हो । अमेरिकाको क्यालिफोर्नियामा सप्टवेयर इन्जिनियरका रुपमा विशिष्ट सेवा गरिरहनु भएका पौडेलको आफ्नै वेबपोर्टल पनि छ । उहाँ ‘विनोदका अक्षर’ नामक स्तम्भका कारण पनि लोकप्रिय हुनुहुन्छ । दार्शनिक एवं जीवन प्रेरक लेखकका रुपमा उहाँ स्थापित हुनुहुन्छ ।
साहित्यपोस्टका अन्तर्राष्ट्रिय संजोजक सर्वज्ञ वाग्लेले लेखक तेज विनोदको सक्रियताबाट साहित्यपोस्ट अमेरिकामा रहेका नेपाली लेखकसँग अझै नजिक भएर काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
‘अमेरिकामा साहित्यपोस्ट लोकप्रिय छ, तैपनि अझै पनि हामी धेरै नेपाली लेखकसम्म पुग्न सकेका छैनौँ,’ वाग्लेले साहित्यपोस्टसँग भन्नुभयो, ‘तेज विनोद प्रतिभाशाली युवा लेखक हुनुहुन्छ । सामाजिक सञ्जालमा पनि सक्रिय हुनुहुन्छ र प्रविधिमा पनि उहाँको दख्खल छ । उहाँका कारण लेखक र पाठकले दोहोरो फाइदा प्राप्त गर्नुहुनेछ भन्ने विश्वास छ ।’
साहित्यपोस्टसँग सुरुदेखि नै जोडिनु भएका तेज विनोद नयाँ अभिभारा निभाउने अधिकतम प्रयास गर्ने बताउनु भयो । साहित्यपोस्टसँगको कुराकानीमा उहाँले आफूलाई विश्वास गरेकोमा साहित्यपोस्ट व्यवस्थापन समूहलाई धन्यवाद दिनुभएको छ ।
‘म लेख्ने रहर गर्ने व्यक्ति हुँ,’ उहाँले भन्नुभयो, ‘फाट्फुट्ट कविता, लेखरचना र कहिलेकाहीँ पोडकास्टमार्फत पाठक माझ आउने गरेको छु । अब नयाँ भूमिकामा पनि सक्रिय रहने योजना बनाएको छु ।’
साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पनि लेखक तेज विनोदको नयाँ भूमिकाले साहित्यपोस्ट थप मजबुत हुने विश्वास गर्नुभयो । ‘अत्यन्तै मिजासिलो, सरल र लेखनमा सक्रिय व्यक्ति हुनुहुन्छ, विनोदजी । उहाँको भूमिका साहित्यपोस्टका लागि सधैँ प्रेरणादायी थियो । अब साहित्यपोस्टले थप सहयोग प्राप्त गर्नेछ,’ प्रधानसम्पादक कोइरालाको भनाइ छ, ‘लेखक तेज विनोदले अब साहित्यपोस्टका पाठकका लागि संयोजनका साथमा नियमित लेखन दिनुहुनेछ भन्ने विश्वास छ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।