स्व. भुवनलाल प्रधानको पुस्तक ‘काठमाडौं उपत्यकाका सांस्कृतिक छिर्कामिर्का’को विमोचन हिजो एक समारोहबीच सम्पन्न भयो ।

विद्वत वर्गको उपस्थितिमा उक्त विमोचन कार्यक्रम काठमाडौंको खुसिबुँस्थित नेपाः बैंक्वेटमा भएको थियो ।

प्रकाशक डा. सुमित्रा मानन्धर गुरुङको सभापतित्वमा भएको सो समारोहमा पूर्व कुमारी मतिना शाक्यबाट सो पुस्तक विमोचित भएको थियो ।

समारोहमा स्व. भुवनलाल प्रधानका छोरा लेखक तथा समालोचक भिक्टर प्रधान, कुमारीघरका राजगुरू मञ्जुश्री रत्न वज्राचार्य, कवि सुरेश किरणले पुस्तकको समीक्षा गर्नुभएको थियो ।

वक्ताहरूले सो पुस्तक विद्वत र साधारण पाठक दुवैको अध्ययनका लागि उपयुक्त भएको र साथै संग्रहणीय र सन्दर्भ सामग्रीको लागि पनि उपयोगी भएको ठह-याउनुभयो ।

२०६४ सालमा प्रथम संस्करण प्रकाशित भएको सो पुस्तकको यो दोस्रो संस्करण हो । यो संस्करण सम्बन्धित स्थानका भुइँचालोअघि र पछिका तस्बीरहरूबाट सुसज्जित छ ।

काठमाडौं उपत्यकाका कला, मन्दिर, बहाल, समारोहहरूदेखि काठमाडौं बाहिरका मायादेवी मन्दिर र रामग्रामको ऐतिहासिक महत्त्वसम्मको अध्ययन, विश्लेषण यस पुस्तकले समेटेको छ ।

कार्यक्रमको उद्घोषण नेपालभाषाका लेखक शाक्य सुरेनले गर्नुभएको थियो ।