युवा लेखक दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ ।

साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले पोखरामा आयोजित कार्यक्रमा पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक गर्नुभएको हो ।

लेखक सरस्वती प्रतीक्षाले आख्यानमा बौद्धिकता रुचाउने पाठकहरूको निम्ति ‘मिथ्या’ उपन्यास रुचिकर हुने बताउनुभयो । उहाँले भन्नुभयो, “उपन्यासका पात्रहरू वैचारिक चरित्रका रूपमा रहेका छन्, यथार्थ र सरल चरित्रका पात्र भन्दा फरक पात्र भएकाले उपन्यास रोमाञ्चक बनेको छ ।”

अर्का लेखक गनेस पौडेलले पनि आख्यानमा नवीन स्वाद खोज्ने पाठकले ‘मिथ्या’ उपन्यास रुचाउने धारणा व्यक्त गर्नुभयो । उहाँको भनाइ थियो, “उपन्यासले कथा वाचनको पूर्वीय परम्परागत शैलीलाई पछ्याएको छ, अतीत, वर्तमान र भविष्यलाई समेटेर समाजका विभिन्न आयामहरूलाई उपन्यासले चरितार्थ गरेको छ ।”

कवि तीर्थ श्रेष्ठले नेपाली आख्यानको फाँटमा लेखकले उपन्यासमार्फत आफूलाई बलियो रूपमा उभ्याउन सफल भएको बताउनुभयो । उहाँले “पोखराले उपन्यासको विधामा लामो यात्रा पार गरेको र यस यात्रामा अहिले दीपकले आफूलाई बलियोसँग उभ्याएको” धारणा राख्नुभयो ।

साहित्यकार सरुभक्तले प्रयोगधर्मी उपन्यास जटिल हुने बताउँदै भन्नुभयो, “आख्यानकारले जटिलतालाई पनि रोचक शैलीमा प्रस्तुत गरेर आफूलाई अब्बल साबित गरेका छन् । यो लेखकको सफलता हो ।”

स्वैरकल्पनात्मक उपन्यास ‘मिथ्या’लाई बुकहिल पब्लिकेसनले बजारमा ल्याएको हो ।