कवि तथा गीतकारको परिचयपछि अब हरिहर तिमिल्सिनाको लेखनीमा नयाँ परिचय थपिएको छ । उहाँरचित बाल मनोविज्ञानमा आधारित उपन्यास कखरा २१ गते शुक्रबार सार्वजनिक भएको छ ।

काठमाडौँको प्रज्ञा भवनमा कखरालाई नौ जनाले एक साथ विमोचन गर्नुभएको थियो ।

आख्यानकार नयनराज पाण्डे, शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल, लिटल एन्जल्स स्कुलका प्रिन्सिपल मुकुन्द शर्मा, शिक्षा क्षेत्रमा कार्यरत मल्लिका जोशी मात्र होइन, विद्यार्थी किशोरकिशोरीहरू अर्जुन मिझार, कल्याणविक्रम अधिकारी, स्नेहा झा र स्वस्ति रेग्मीले संयुक्त रूपमा विमोचन गर्नु भएको थियो ।

विमोचनको क्रममा मन्तव्य व्यक्त गर्दै आख्यानकार नयनराज पाण्डेले भन्नुभयो, ‘यो उपन्यासले मलाई बाल्कालका घटना स्मरण गराइदियो । विद्यार्थीहरू बदमास देखिनु, भौतिक क्षति गर्नु भनेको तिनको असन्तुष्टि पोख्नु हो रहेछ ।’ पाण्डेले स्कुल छोड्नेबेलामा साथीहरूको लहलहैमा लागेर तोडफोड गरेको सम्झनु भयो । उहाँले थप्नुभयो, ‘त्यसो किन गरेँ हुँला भन्ने लाग्थ्यो । उपन्यास पढ्दै दा त्यसको जवाफ भेट्टाएँ । उपन्यासमा लेखकले सजिलो तरिकाले वर्तमान शिक्षा प्रणालीका पक्षहरू केलाउनु भएको छ ।’

शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले उपन्यासले स्वतन्त्र पठनको पक्षपोषण गरेको बताउनुभयो । उहाँले अभिभावकले विद्यार्थीको सिकाइभन्दा नम्बर बढी आओस् भन्ने चाहना गरेको र यो चाहना र प्रवृत्ति नै मूल समस्या भएको जनाउनुभयो ।

उपन्यासलाई सिकाइ समूहले बजारमा ल्याएको हो । सिकाइ समूहले हालसम्म शिक्षा क्षेत्रलाई नै केन्द्रित गरी सुन्दर फिक्सन ननफिक्सन दुवै किसिमका पुस्तक प्रकाशन गर्ने गरेको छ ।