छन्द–तरङ्ग, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कारबाट दुई जना वरिष्ठ कविहरूलाई पुरस्कृत गरेको छ ।

कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष रु. २५०००÷— नगदसहितको छन्दसाधना पुरस्कार प्रदान गर्दै आएको छ । काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कवि चन्द्रप्रसाद न्यौपानेलाई ‘छन्दसाधना पुरस्कार–२०७७’ र कवि घनश्याम कँडेललाई ‘छन्दसाधना पुरस्कार–२०७८’ बाट पुरस्कृत गर्नुभएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कुलपति उप्रेतीले कँडेल र न्यौपाने दुवै स्रष्टाहरूले नेपाली छन्दकवितालाई माथि उठाउनमा विशेष भूमिका खेलेको हुनाले योग्य व्यक्तिलाई नै योग्य पुरस्कार दिइएको विचार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको जोडीले सिर्जना र प्रशिक्षणका माध्यमबाट नेपाली छन्दकवितालाई माथि उठाउनमा विशिष्ट योगदान दिँदै आउनुभएको छ । उहाँहरूद्वारा स्थापित र सञ्चालित यस छन्दसाधना पुरस्कारले यस क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई सम्मानका साथै थप हौसला प्रदान गर्ने छ ।” यसै अवसरमा कुलपति उप्रेतीले कवि घनश्याम कँडेलद्वारा लिखित ‘सम्यक् सम्बुद्ध’ महाकाव्य र कवि चन्द्रप्रसाद न्यौपानेद्वारा लिखित ‘चन्दयुगः चन्दशास्त्र पर्व’ दुई कृतिको विमोचनसमेत गर्नुभएको थियो ।

यस कार्यक्रममा विशिष्ट अतिथि प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले विमोचित दुवै कृतिका बारेमा बोल्दै घनश्याम कँडेलमा उच्च कवित्व प्रवाह रहेको र चन्द्रप्रसाद न्यौपाने नेपाली कविताका क्षेत्रमा एक अद्भुत प्रतिभा रहेको विचार व्यक्त गर्नुभएको थियो भने अर्का विशिष्ट अतिथि प्राज्ञ माया ठकुरीले छन्द–तरङ्गले धेरै कविहरूलाई उच्च सम्मान दिएको विचार व्यक्त गर्नुभएको थियो ।

डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्राज्ञ डा. देवी नेपालले डा. ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा सुरु भएको छन्द–तरङ्गले २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सुरु गरेको र अनवरत रूपमा १९ शृङ्खलासम्म चलेपछि कोभिड–१९ का कारण हाल स्थगित रहेको तर वातावरण सहज हुनासाथ पुनः सञ्चालन गरिने जानकारी दिनुहुँदै छन्दसाधना पुरस्कारलाई भने निरन्तरता दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी दुई संयोजकका अतिरिक्त विभिन्न दाताहरूबाट प्राप्त रकमबाट हामीले रु. ७,८२,५५५÷— को अक्षयकोष स्थापना गरेका छौँ, जसको ब्याजबाट यो पुरस्कार प्रदान गर्ने गरिएको छ । साथै हामीले पुरस्कृत स्रष्टालाई सम्मान–पत्र पनि कवितामा नै प्रदान गर्ने, स्रष्टाको नवप्रकाशित कृतिको विमोचन गरिदिने र स्रष्टाका साथै उहाँकी जीवनसङ्गिनीलाई पनि सम्मान गर्ने परम्परा बसाएका छौँ ।”

कार्यक्रममा पुरस्कृत प्रतिभाहरू कवि चन्द्रप्रसाद न्यौपानेले यस पुरस्कारले आफूलाई थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गर्नुभएको थियो भने कवि प्रा. घनश्याम कँडेलले आफूले सकेसम्म छन्दकविताको उन्नयनका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

युवाकवि रूपक अलङ्कारले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा मधुस न्यौपाने, देवु लुइटेल र डी.पी. दाहालले पुरस्कृत कविहरूका छन्दकविता वाचन गर्नुभएको थियो भने कवि ज्ञानु विद्रोही र ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेले पनि कवि, कृति र कार्यक्रमका बारेमा बोल्नुभएको थियो ।