पोखरा / पोखरामा रहेका कलाकारहरूले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा ललितकला थेरापीको नीति थप्न तथा प्याकेजका रूपमा ल्याउन आग्रह गरेका छन् । कास्की जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै सो प्याकेज ल्याउन कलाकारहरूले आग्रह गरेका हुन् ।
आग्रह गर्ने कलाकारहरूमा विश्व कला यात्री प्राज्ञ नगेन सिंह, प्रताप बानिया, प्रकाश पुन, सुवास भण्डारी लगायत छन् ।
ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख चित्राङ्गद बरालले कलाकारहरूको आवाज प्रधानमन्त्री कार्यालयसम्म पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।
ज्ञापनपत्रमा हरेक सरकारी विद्यालयमा ललितकलाको कला गुरू राख्नुपर्ने, विभिन्न स्रोतमार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनुपर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य रूपमा एक कलाकृति राखिनुपर्ने, नेपालका कलाकारहरूको कलाकृतिलाई बैंकमा धितो राखी ऋण उपलब्ध गराउनुपर्ने लगायतका मागहरू रहेका छन् ।