सिक्किमस्थित प्रगतिशील साहित्य संघ (प्रविसास)ले ओझेलमा परेका स्रष्टाहरूको योगदानलाई कदर गर्दै तीन स्रष्टालाई गएको ६ अक्टोबर (बुधबार) सिक्किमको जोरथाङमा आयोजित कार्यक्रममा स्मृति प्रेरणा पुरस्कार प्रदान गरेको छ ।
नेपाली भाषा साहित्यमा काम गर्नु भएका स्व. गहर उदासी, स्व. श्याम विरही तथा स्व. दीप मुस्ताङका नाममा स्थापित स्मृति प्रेरणा पुरस्कार भाषा साहित्यमा काम गरिरहेका हस्ताक्षरहरूलाई प्रदान गर्न गरिन्छ । यस वर्षको स्व. गहर उदासी स्मृति प्रेरणा पुरस्कार भूपाल कौशिकलाई प्रदान गरिएको छ भने स्व. श्याम विरही स्मृति प्रेरणा पुरस्कार नीरव प्रधानलाई प्रदान गरिएको छ । त्यस्तै स्व. दीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार हिमाली बेला पत्रिकाका सम्पादक अर्जुन यावालाई प्रदान गरिएको छ ।
अघिल्लो वर्ष साहित्यपोस्टका सिक्किम सम्पादक रवि रोदनले श्याम विरही स्मृति पुरस्कार प्राप्त गर्नुभएको थियो । त्यस्तै गहर उदासी सुब्बा प्रेरणा पुरस्कार कवि इन्द्रकुमार राईले प्राप्त गर्नुभएको थियो भने दीप मुस्ताङ प्रेरणा पुरस्कार कवि सन्ध्या गिरिले प्राप्त गर्नुभएको थियो ।
कुनै पनि पुरस्कार प्रायः ठूला ओहदामा पुगेका साहित्यकारलाई दिइने भए पनि वास्तविक रूपमै भाषा साहित्यका क्षेत्र काम गरिरहेका तर ओझेलमा परेका श्रष्टाहरूलाई खोजेर यो पुरस्कार दिइएकामा प्रमुख अतिथि अर्जुन पियूषले सन्तोष व्यक्त गर्नुभयो । समय दैनिकका पूर्व सम्पादक तथा वरिष्ठ साहित्यकार पियूषले यस किसिमको स्तुत्य कार्य वरिष्ठहरूबाट हुनुपर्नेमा विद्यार्थीबाट भएकामा आफूलाई गर्व लागेको बताउनुभयो ।
‘विद्यार्थी नानीहरूको सङ्घले गरेको यो कार्य अति सराहनीय छ,’ साहित्यकार पियूषले थप्नुभयो, ‘उहाँहरूले सही व्यक्तिलाई पुरस्कृत गर्नुभएको छ ।’ प्रौढहरूबाट विद्यार्थी तथा युवा वर्गले सिक्नु पर्ने अवस्थामा प्रविसासले गरेको यस किसिमको कार्यले उल्टै प्रौढहरूलाई प्रेरणा दिएको उहाँको कथन थियो । उहाँले पहिला प्रविसास ‘सोरेङ’ थियो, अहिले ‘सिक्किम’ भएको छ र भोलि ‘प्रविसास भारत’ बनोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
विद्यार्थीहरूलाई मञ्च प्रदान गर्न सके प्रविसास अझ फस्टाएर अघि बढ्नसक्ने विश्वास व्यक्त गर्दै साहित्यकार पियूषले भन्नुभयो, ‘नयाँ सोच-विचारले नयाँ काम हुन्छ । प्रविसास त्यही गोरेटोमा छ । त्यसैले प्रिन्ट, इलेक्ट्रोनिक तथा वर्तमान सोसल मीडियाहरूले पनि प्रविसासलाई स्थान दिनुपर्ने देख्छु ।’
सो समारोहमा टीका गुरुङद्वारा प्रकाशित तथा गहर उदासीद्वारा लिखित उपन्यास ‘सोर्याङ’ तथा प्रविसासद्वारा प्रकाशित बुलेटिन ‘नयाँ बाटो’को तेस्रो अङ्कसमेत लोकार्पण गरिएको थियो ।
कार्यक्रममा प्रविसासकी अध्यक्ष श्रद्धाञ्जली दाहालले सङ्घको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विशिष्ट अतिथि टीका गुरुङ, सिलगढ़ीबाट उपस्थित युवा साहित्यकार सुरज ‘रोसुरि’, उपन्यासकार छुदेन काविमो, अजान्ता सुब्बा, सगरमाथा आरोही मनिता प्रधान आदिले पनि सम्बोधन गर्नुभएको थियो ।
सबै वक्ताले प्रविसासको कार्यक्रमबाट प्रेरित रहेको बताउँदै प्रविसासका सदस्यहरूलाई सबैको साथको खाँचो रहेको मन्तव्य राख्नुभएको थियो ।
यस क्रममा साहित्यकार काविमोले आफ्नो जानकारीअनुसार वर्तमान सिक्किमका विशेष पश्चिमबाट विद्यार्थीहरूले धेरै किताब पढ़िरहेको बताए। यसरी नै ‘रोसुरि’ले पाठकहरूसम्म सही र राम्रा पुस्तकहरू पुर्याउन सक्नुपर्ने बताउँदै त्यसो हुनसके हाम्रो समाजमा पनि पठन संस्कृति बढ़ेर जाने विश्वास व्यक्त गरे।
मेरीहाङ्मा सुब्बाको स्वागत सम्बोधनबाट शुरु गरिएको सो कार्यक्रममा पुरण भण्डारी, लाक्पी तामाङ, भावना शर्मा, छेवाङ योञ्जन, महेश राई, प्रितम मैनाली, राधिका तामाङ, इसिका परियार, बविता खालिङ आदिले कविता वाचन गर्नुभएको थियो भने रूपा तामाङले कथा वाचन गर्नुभएको थियो ।
यस्तै प्रविसासका सदस्यहरूले संस्थाका गीतहरू सामूहिक गायन प्रस्तुत गर्नुभएको थियो भने दीपाञ्जली र भावनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।