
कवि तथा लेखक सुरेन्द्र अस्तफलको नवीनतम् कवितासङ्ग्रह ‘तेल भिसा’को लोकार्पण गरिएको छ ।
चितवनमा बसेर साहित्य सृजना गरिरहनुभएका अस्तफलको सङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठानस्थित लेखनाथ प्रवचन कक्षमा लोकार्पण गरिएको हो ।
आफ्ना कवितामा समाजको चित्रण गर्न मन पराउने अस्तफलका यसअगाडि ‘शब्दहरू अविराम यात्रामा’, ‘आमा’, ‘बिम्बशिविर’ र ‘हिउँको आरोहण’ कृति प्रकाशित भइसकेका छन् ।
शिक्षण पेशामा संलग्न अस्तफल चितवन साहित्य परिषद्, नेपाली लेखक सङ्घ र आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
कवितासङ्ग्रह ‘तेल भिसा’ युगबोध, जीवनबोध एवम् जीवन भोगाइका कटु यथार्थको प्रकटीकरणका साथै अस्तित्वबोध, विसङ्गतिबोध र प्रणयचेतको अभिव्यक्ति रहेको सार्वजनिकीकरण समारोहमा समीक्षकहरूले बताउनुभयो ।
साहित्यकार प्रभा बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कवि श्रवण मुकारुङ रहेनुभएको थियो ।
यस्तै कवि तथा समालोचक महेश पौड्याल र समालोचक ज्ञानु अधिकारीले कवितासङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
टिप्पणीका क्रममा महेश पौड्यालले कवितामा पुस्तान्तरणको बजोड प्रस्तुति रहेको र कविले आलोचनात्मक चेतको प्रयोग गर्नुभएको बताउनुभयो ।
त्यसैगरी ज्ञानु अधिकारीले वृद्धवृद्धाको निरासमय अवस्थाको अभिव्यक्ति कवितामा पाइएको जनाउनुभयो ।
आजैबाट यो कविता बजारमा पुगिसकेको शिखा बुक्सका प्रमुख पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रमको बीचमा उक्त कवितासङ्ग्रहबाट कवि निरज दाहाल र मञ्जिल अनिलले एक एक वटा कविता वाचन गर्नुभएको थियो ।
शिखा बुक्सले बजारमा ल्याएको यस पुस्तकको मूल्य रु.२०० रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

