जेन लिरोई र विरेन्गेरी देलापोर्टको बाल पुस्तक “बाघ बन्न चाहने बिरालो” नेपालीमा प्रकाशित भएको छ ।

कथालय इन्कद्धारा प्रकाशित यो पुस्तकको नेपाली अनुवाद बिनोद भण्डारीले गरेका छन् । पुस्तक पाटे नामक बिरालोमा आधारित छ, जो बाघ बन्ने सपना देखिरहेको हुन्छ ।

पाटे बाघ जस्तो हुन चाहन्छ तर उसको त्यो सानो बिरालो अनुहारले उसलाई झस्काउँछ । कहिलेकाहीँ पाटेलाई आफ्नो छायाले मात्र आफू बाघजस्तो छु भन्ने भान गराउँछ।

एक दिन पाटेको मालिकलाई पाटेको व्यवहार अनौठो लाग्छ र मालिक उसलाई चिडियाखाना लैजाने निर्णय गर्छ । त्यहाँ पाटेले बाघ देख्छ ।

“ओहो ! बाघ हुनु भनेको त गर्जेर चिडियाखाना आउने मानिसलाई तर्साउनु, डराउँदै हेर्ने मान्छेहरुको अगाडि काँचो मासु खानु, यो त मेरो जीवनकै सपना हो,” भनेर पाटेले सोच्छ ।

बालबालिकामा पुस्तक पढेपछि आफूले सोचेको र चाहेको काम मिहिनेतसाथ गर्यो भने पक्कै पूरा हुनसक्छ भन्ने हौसला दिन्छ । कथालय इन्कद्वारा प्रकाशित यो चित्रकथा ३२ पृष्ठको छ । यस पुस्तकको मुल्य २२५ रुपैयाँ तोकिएको छ ।