
गजलकार तथा गीतकार जितेन्द्र बानियाँको पहिलो कृति गजल संग्रह ‘देशको ऐना’ सार्वजनिक भएको छ । जनगायक रामेश श्रेष्ठले एक समारोहका बीच ‘देशको ऐना’को सार्वजनिक गरेका हुन् ।
काठमाडौं बौंद्ध चुच्चेपाटीमा रहेको ज्योति पार्टी प्यालेसमा ओखलढुङ्गा कला साहित्य समाजको दोस्रो अधिवेसनमा बानियाँको गजल संग्रह लोर्कापण गरिएको हो । लोर्कापणपछि कृतिमा टिप्पणी गदैं रामेशले देशको ऐनाले वास्तवमै देशको यथार्थ चित्रण गरेको र वर्तमान राजनीति, सामाजिक विकृतिमा तिखो व्यंग्य प्रहार गरेको औल्याउँदैं गजल विधालाई थप उचाइमा पु-याउन ‘देशको ऐना’ले योगदान दिने धारणा राखे ।
त्यसैगरी ओखलढुङ्गा कला साहित्य समाजको अध्यक्ष गम्बु शेर्पाले यो गजल संग्रह प्रवासमा रहने नेपालीको मात्र आवाज नबोलेर सम्पूर्ण नेपालीको प्रतिनिधि आवाज भएको बताए । एस.पी. प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको देशको ऐनाको मूल्य २०० रूपैयाँ रहेको छ । उनको गजलमा हामी नेपालीको बानी कस्तो हुन्छ त्यसको यथार्थ चित्रण गरेका छन् ।
“बोतल नयाँ तर भित्र पानी पुरानै
नेपाल नयाँ नेपालीको बानी पुरानै ।”
गजलकारले आफू कोरिया रहँदा देशप्रति माया दर्शाउँदै कृतिमा देश प्रेम, वर्तमान राजनीति अस्थिरता र समाजमा व्याप्त विसंगति, विकृतिको उजागर गरेका छन् । विदेशबाट आउने रेमिटयान्सले देशको आधा अर्थतन्त्र धानेको छ । हरेक जवान छोरा परिवार पाल्न विदेशिनु पर्ने बाध्यतालाई यसरी गजलमा पोखिन्छन् गजलकारः
“छोरा हुर्कियो पासपोर्ट बनाउन रिन चाहियो
देशलाई त न जवान चाहियो न जमिन चाहियो ।”
देशको राजनीतिप्रति उनको चेत सहितको तिखो व्यङ्ग्यः
“कहिले हावा बेचिन्छ पैसैका लागि कहिले पानी बेचिन्छ
नेपाल यस्तो बजार हो जहाँ घर जलाई खरानी बेचिन्छ”
संग्रहमा ५९ वटा गजल समेटिएको छ । गजलकारले कार्यक्रममा ४ वटा गजल वाचन गरेका थिए । कार्यक्रममा गजलकारका बाआमा, सञ्चारकर्मी पुरुषोत्तम दाहाल, युवा चर्चित मुक्तककार सन्तोष अम्गाई, कवि तथा सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठ, कमेडी च्याम्पियनका फाइनलिस्ट हिक्मत महरा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव रामनाथ घिमिरेले गरेका थिए ।
सोही कार्यक्रममा साहित्यकार प्रगति राई, विनोद दाहाल, गायक बलराम परियार, जितेन्द्र बानिया, गम्बु सेर्पा लगायत श्रष्टा सम्मानित भएका थिए साथै ओखलढुंगा कला साहित्य समाजको राज राई अध्यक्षतामा नयाँ कार्य समिति पनि चयन भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

