मानव अधिकार तथा शान्ति समाजले १५ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । समाजका सभापति गोविन्द खनालले बुधबार विज्ञप्ति जारी गर्दै स्रष्टा सम्मान अभियानअन्तर्गत यस वर्ष १५ जना स्रष्टालाई सम्मान गरिने जनाएका हुन् ।
समाजले २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान कवि श्रवण मुकारुङलाई प्रदान गर्ने भएको छ । त्यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्राध्यापक डा. वेणी माधव ढकाल, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान पत्रकार रामरिझन यादव, पवित्रादेवी चौलागाईं मानव अधिकार स्रष्टा सम्मान बाँकेका विष्णुलाल कुमाल, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पाल्पाका रामबहादुर पहाडीलाई प्रदान गर्ने भएको छ ।
त्यस्तै, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान संखुवासभाका रत्ननिधि रेग्मी, मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रुपन्देहीकी रामेश्वरी पन्त, गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात भक्तपुरकी प्रतिसरा सायमी मानन्धर, भूमिप्रसाद बराल स्रष्टा सौगात सुनसरीका कवि मनु मञ्जिल, जोगमाया बराल स्रष्टा सौगात मकवानपुरकी विना थिङ तामाङ, राधादेवी दाहाल स्रष्टा सौगात पाल्पाकी मनु विक र जनककुमारी रेग्मी स्रष्टा सौगात काठमाडौंकी मेनका पोखरेल आचार्यलाई प्रदान गरिने भएको छ । त्यसैगरी, समाजले पद्यप्रसाद दाहाल स्रष्टा सौगात हुम्लाकी देवकी तिमल्सिना रोकाया, श्रीप्रसाद दाहाल स्रष्टा सौगात तनहुँका सुदेश सत्याल र श्रीनारायण दाहाल स्रष्टा सौगात कैलालीकी रविना चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
शान्ति समाजले एक दशकदेखि स्रष्टा सम्मानलाई विशेष अभियानको रुपमा अघि बढाउँदै आएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा कार्यक्रम आयोजना गरी २० हजार रुपैयाँ पुरस्कार राशीसहित स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ ।
सम्मानित हुने स्रष्टाहरुका नेपाली, संस्कृत, नेवारी, मैथिली, तामाङ, थारु, अवधी र हिन्दी भाषामा कृतिहरु प्रकाशित छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।