किताब यात्रा फाउन्डेसनको आयोजनामा हरेक वर्ष हुने ‘किताब जात्रा’ आइतबारबाट सुरु भएको छ । एपी वान टेलिभिजनमा एक सातासम्म प्रशारण हुने ‘नबिल किताब जात्रा २०७८’ को पहिलो दिन संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरियो ।

जोशीलाई नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पु-याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने ‘प्रेम साहित्य सम्मान’ प्रदान गरिएको किताब जात्राको फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले बताउनुभयो । एक लाख एघार हजार एक सय एघार रूपैयाँ राशी रहेको सम्मान सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो । उक्त सम्मान यसअघि साहित्यकार सरुभक्त र कवि जसराज किराँतीले प्राप्त गरिसक्नु भएको छ ।

त्यसैगरी, जात्राकै अवसरमा प्रदान गरिने ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ जीवा लामिछानेको कृति ‘देश देशावर’ले प्राप्त गरेको छ । ‘किताब यात्रा डटकम’ले वर्ष दिनको अवधिमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई यो अवार्ड प्रदान गर्ने गरेको छ । आख्यानकार अमर न्यौपानेलिखित ‘गुलाबी उमेर’ र विजयकुमारलिखित ‘सम्बन्धहरू’ले यसअघि उक्त अवार्ड प्राप्त गरिसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको सफलताको शुभकामना सन्देश वाचनबाट सुरु भएको जात्रामा हास्यकलाकार हरिवंश आचार्यले ‘कि नोट स्पिच’ दिनुभएको थियो ।

जात्राको पहिलो छलफल सेसनको रूपमा ‘कथा लेखनको कथा’ शीर्षकमा आख्यानकार नयनराज पाण्डे र अमर न्यौपानेसँग शोभिता सिंखडाले अन्तरक्रिया गर्नुभयो । त्यसैगरी गायक अमृत गुरुङसँगको अन्तरंग संवादलाई टीकाराम यात्रीले ‘नेपथ्यका सारथीः अमृतका अन्तर कुन्तर’ शीर्षकमा प्रस्तुत गर्नुभयो ।

किताब यात्रा फाउन्डेसन’ले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ अबको एक सातासम्म एपीवान टेलिभिजनबाट बेलुकी ६ बजेदेखि ७ बजेसम्म र किताब जात्रा युट्युब च्यानलबाट हेर्न सकिनेछ जात्रा आयोजकले जनाएको छ ।