
नेपाल प्रज्ञा प्रतिष्ठानमा कथाकार तथा शिक्षक नेता लक्ष्मीकिशोर सुबेदीको कथा सङ्ग्रह ‘तमोरको सुसेली’को लोकार्पण सम्पन्न भएको छ ।
शिक्षाविद् तथा साहित्यकार खगराज बराजको प्रमुख आथित्यतामा सम्पन्न समारोहको अध्यक्षता चर्चित आख्यानकार भुवनहरि सिग्देलले गर्नुभएको थियो ।
नाटककार अशेष मल्ल, मदन पुरस्कार विजेता महेशविक्रिम शाह, साहित्यकार अरुण सुबेदी, लेखककी आमा र लेखक स्वयंले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नु भएको थियो ।
पुस्तकमाथि बोल्दै मदन पुरस्कार विजेता लेखक शाहले आञ्चलिक, शिक्षक र विद्यार्थीको सम्बध र यौन मनोविज्ञानको सम्मिश्रण रहेकाले पुस्तक सबैले पढ्न उपयुक्त रहेको बताउनुभयो ।
नाटककार अशेष मल्लले आफू जन्मिएको ठाउँको कथा भएकोले कथाहरू मन परेको र आफ्नो बालापनको सम्झना गराएको बताउनु भएको थियो ।
नेपाल सरकारका पूर्व सचिव तथा साहित्यकार खगराज बरालले कथाहरू पढ्दै जाँदा समय सकिएको थाहा नहुने र कथाभित्र रहेका सम्वादहरू दार्शनिक रहेको र कथा सबैले पढ्नयोग्य रहेको बताउनु भएको थियो ।
कार्यक्रम समापन गर्दै आख्यानकार भुवनहरि सिग्देलले कथाले नेपालको पूर्वी भागको मनमोहक भ्रमण गराएको बताउनु भयो । कार्यक्रम सरोज घिमिरेले सञ्चालन गर्नुभएको थियो । शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकको बजारको मूल्य रु ३७५ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

