‘भूगोल साहित्य समाज’ले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ ।
२०७६ असोज ६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता भएको समाजले विशेष रचना वाचन कार्यक्रम आयोजना गरेर उत्साहका साथ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा कविहरु राम बहादुर पहाडी, बासुदेव गुरागाईँ, मुकुन्द पौडेल, जयनारायण नेपाल, रेहित सैंजु, उद्धव खनाल, हरिश्चन्द्र गौतम, मुकुन्द अर्याल, एलपी पराजुली, ओमप्रकाश आचार्य, नरराज आचार्य, महेश रिजाल, बुद्धिराज पाण्डे, दिनेश विक्रम थापा, शैलेन्द्रकुमार शाह र विनोद नेपालले कविता, गजल, छेस्का, मुक्तक लगायतका रचना वाचन गर्नु भएको थियो ।
प्रमुख अतिथि रामबहादुर पहाडी तथा विशिष्ट अतिथिका रुपमा टेकराज जोशी र उद्धव खनाल रहनुभएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले असहज परिस्थितिकै बीच पनि भर्चुअलसमेत गरी समाजले दुई वर्षको अवधिमा १२ वटा साहित्यिक कार्यक्रमहरूको आयोजना गरेको तथा दुईवटा पुस्तकसमेत प्रकाशन गरेको बताउँदै यस अवधिमा समाजलाई सहयोग गर्ने सबैप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभयो ।
स्मरणीय छ, भूगोल साहित्य समाजको गठन राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वहरूद्वारा साहित्यिक सृजनाको अभियानलाई निरन्तरता दिँदै भाषा र साहित्यको उन्नयनका लागि अघि बढ्ने र निवृत्त जीवनलाई सक्रिय राख्ने उद्देश्यले गरिएको हो ।
वार्षिकोत्सव कार्यक्रम समाजको दरबारमार्ग, काठमाडौँस्थित कार्यालयको सभाहलमा आयोजना गरिएको थियो । यससँगै समाजले तेह्रौँ रचना वाचन श्रृङ्खलासमेत पूरा गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।