कवि तथा कथाकार सुरेन्द्रलाल भुजूको कवितासंग्रह धमिलो बिहान एक समारोहका बीच भक्तपुरमा सार्वजनिक गरिएको छ ।
सिर्जना अभियान समाजको आयोजनामा भएको सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले कृतिको विमोचन गर्दै कवि भुजूले अहिलेको विविध समस्यामाथि केन्द्रित भएर सरल रुपमा कविता लेखेको बताउनुभयो ।
प्रमुख अतिथि उपाध्यायले मानवीय भावना र संवेदनाका साथै बौद्धिकता पनि मिसिएको कविता प्रभावकारी हुने बताउँदै धमिलो बिहानमा भएका कविताहरूमा दुवै पक्ष भएकाले पठनीय रहेको चर्चा उल्लेख गर्नुभयो ।
कथाकार ध्रुव मधिकर्मीले कृतिमाथि टिप्पणी गर्दै कवि भुजूका कविताहरूमा समसामयिक जीवनका सबैजसो घटना र प्रसंगहरू मानवीय संवेदनासहित आएका छन् भन्नुभयो । साथै उहाँले दैनन्दिन जीवनका ससाना विषयमाथि पनि कविता लेखिएका हुनाले सबै प्रकारका पाठकका लागि यो संग्रह रुचिकर हुने बताउनुभयो ।
गीतकार सुवासचन्द्र ढुंगेलले कृतिभित्रका कविताहरुको चर्चा गर्दै कविलाई शुभकामना दिनुभयो ।
कृतिका लेखक सुरेन्द्रलाल भुजूले विद्यार्थीकालमा लेखनमा रुचि राखेको भए पनि पछिल्लो समयमा मात्र कवितालेखनमा सक्रिय भएको बताउनुभयो ।
कार्यक्रममा कवि उदय निरौला, लेखक रामेश्वर भुजूले पनि शुभकामना दिनुभएको थियो भने गायिका सरिता प्रजापतिले कविद्वारा रचित गीत प्रस्तुत गर्नुभएको थियो । यसैगरी कवि रामगोपाल आशुतोष र शकुन्तला महर्जनले संग्रहबाट एउटा एउटा कविता वाचन गर्नुभयो ।
सिर्जना अभियान समाजको प्रकाशन रहेको धमिलो बिहान कवितासंग्रह कवि भूजूको दोस्रो कृति हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।