कवयित्री तथा गीतकार मीरा गजुरेलको मुक्तकसंग्रह मुक्तक मालिका एक समारोहका बीच विमोचन गरिएको छ ।

समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको गद्यआख्यान विभागकी प्रमुख माया ठकुरीले कृतिको विमोचन गर्दै साहित्यमा नारी स्रष्टाहरुको प्रवेश र तिनका साहित्यको प्रकाशनले पाठकहरुको वृद्धिमा निकै सघाउ पुगेको बताउनुभयो ।

साथै उहाँले यसरी नयाँ लेखिकाको रुपमा देखापरेकी मुक्तककार मीरा गजुरेलले थोरै समयभित्र नेपाली साहित्यमा आफ्नो उपस्थितिलाई स्थापित गर्नसकेको बताउँदै उहाँका मुक्तकमा समसामयिक तथा मानवीय संवेदनाका विभिन्न अनुभूतिहरु हार्दिकताका साथ आएका छन् भन्नुभयो ।

कृतिमाथि बोल्दै समीक्षक बद्री उप्रेतीले मीराका मुक्तक सरल र शिष्ट भावहरुको माध्यमबाट समसामयिक स्थितिलाई चित्रण गर्न सफल रहेको बताउनुभयो ।

मुक्तकलेखिका गजुरेलले आफ्नो वरपरको समाजमा भइरहेका घटनालाई मुक्तकका माध्यमबाट अभिव्यक्त गरेको बताउनुभयो ।

कार्यक्रममा मुक्तककार रमेश पौडेल, विमल भौकाजी, रीना आचार्य र तिलस्मी प्रभासले पनि मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम साहित्यकार ध्रुव मधिकर्मीको सभापतित्वमा भएको थियो ।

निसान गजुरेल प्रकाशक रहेको सो संग्रहमा समसामयिक राजनीति, देशप्रतिको माया, प्रेमको हार्दिकता र जीवनमा आइपर्ने अनेकन ससाना विषयवस्तुमाथि लेखिएका साढे तीनसय मुक्तक संग्रहित छन् ।