शीत काव्य समाज नेपालको आयोजनामा कविता विधाको लघुतम उपविधा शीतको तानसेनमा दुई वटा कृति विमोचित भएको छ ।
कृति विमोचन गर्दै प्रमुख अतिथि पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले पाल्पामा जन्मेको शीतले चाँडै व्यापकता पाउने र धेरै नवस्रष्टाहरू जन्माउने आशा गर्नुभयो ।
कार्यक्रममा साहित्यकार देवन्द्रराज शाक्यद्वारा लिखित एवं संकलित शीत काव्य संग्रह ‘शीत’को समीक्षा गर्दै समीक्षक टंक पन्तले संग्रहमा विषयगत, भावगत विविधतासहित गेयात्मकता रहेको बताउनुभयो । बालकहरूले अब सजिलै शीत लेख्न सक्ने उहाँको धारणा थियो ।
शीत कृतिभित्र ६६ जना सर्जकहरूको शीत संग्रहित छ ।
यसैगरी साहित्यकार ईश्वरकृष्ण बहादुर केसीद्वारा लिखित एकल शीत संग्रह ‘शीतका थोपा’को समीक्षा गर्दै समीक्षक कमल खत्रीले यस सङ्ग्रहमा सकारात्मक सन्देशदेखि सामान्य तथा विशिष्ट भावका गेयात्मक शीतहरू रहेको बताउनुभयो ।
कार्यक्रममा कृतिका प्रकाशकद्वय शीत साधक देवेन्द्रराज शाक्य र ईश्वरकृष्णबहादुर केसीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शीत काव्य समाजका राष्ट्रिय महासचिव दामोदर ढकाल, राष्ट्रिय सदस्य एवं वाग्मती प्रदेश अध्यक्ष तथा कृतिका लेखक कृष्णबहादुर केसी, पत्रकार धातानन्द गैरे, नारी स्रष्टा रमा पन्त, पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शीतको जन्म भएको तीन महिनामै दुई वटा कृति विमोचन गर्न पाउँदा शीतले व्यापकता पाउनेमा आफू विश्वस्त रहेको शीत काव्य समाज नेपालका अध्यक्ष पुष्कर अथक रेग्मीले बताउनुभयो ।
यसैगरि शीत काव्य समाज नेपालले शीत काव्य समाज पाल्पा कार्य समितिसमेत गठन गरेको छ ।
शीत काव्य समाज पाल्पाको अध्यक्षमा कवयित्री इन्दिरा ज्ञवाली चयन हुनु भएको छ । समाजको उपाध्यक्षद्वयमा साहित्यकार गोविन्द खनाल र गुणवती केसी, सचिवमा सुशील बस्याल र कोषाध्यक्षमा जानकी अधिकारी चयन हुनुभएको छ ।
समाजका सदस्यहरूमा आयाम कार्की, सरिता रेग्मी, शोभा कडरिया, पशुपति प्रधान, अम्बिका पाण्डे, जमुना घिमिरे र कमल बस्याल रहनु भएको छ । सल्लाहकारहरूमा चित्रवलीराम सुवाल, नारायणप्रसाद शर्मा र रमा पन्त रहनु भएको छ । यस्तै संस्थागत सल्लाहकारमा चन्द्रकान्त न्यौपाने र प्रेस सल्लाहकारमा रामचन्द्र रायमाझीलाई मनोनयन गरिएको छ ।
यसैगरी आजको विशेष समारोहमा शीत काव्य समाजको राष्ट्रिय प्रेस सल्लाहकारको रूपमा तितेपाटी डटकमका सञ्चालक आनन्द आचार्यलाई मनोनयन गरिएको छ ।
शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीको अध्यक्षतामा शीत काव्य समाज नेपाल गठन भएसँगै प्रदेश नं १ र वाग्मती प्रदेशमा प्रदेश समिति गठन भई शीतका सर्तजकहरू शीतको प्रचारप्रसारमा लागिपर्नु भएको छ।
पाल्पा शीत काव्य समाज गठन हुने पहिलो जिल्ला भएको छ । शीतको जन्म पाल्पामै भएकाले यसको व्यापकीकरणमा थप सहयोग पुग्ने आशा संस्थापकहरूले लिनुभएको छ ।
काव्य विमोचन कार्यक्रम शीत काव्य समाज नेपालकी राष्ट्रिय कोषाध्यक्ष एवं पाल्पाकी अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष गोविन्द खनालको स्वागत र शीत काव्य समाज पाल्पाका सचिव सुशील बस्यालको संचालनमा सम्पन्न भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।