वरिष्ठ साहित्यकार भाष्करका चार कृतिको असोज १ गते आयोजित वेभिनार कार्यक्रममा लोकार्पण गरिएको छ ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा समीक्षात्मक कृति पर्यालोचन, कथासङ्ग्रह आयुष्मान्, लघुकथा सङ्ग्रह जीवनयात्रा र अङ्ग्रेजीमा अनूदित कृति मगर अङ्कल लोकार्पण भएका थिए ।

भाष्कर प्रा.डा. भवानीप्रसाद पाण्डेको साहित्यिक नाम हो । उहाँका अहिलेसम्म विभिन्न विधाका २८ कृति प्रकाशित भइसकेका छन् ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष साहित्यकार प्रमोद प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा समालोचक प्रा.डा. रमेश भट्टराईले पर्यालोचन कृतिमा लेखकको आलोचनात्मक चेत प्रखर देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “साहित्यकार भाष्कर निडर, निर्भीक र आफ्नो कुरा स्पष्ट राख्ने बौद्धिक व्यक्ति हुन ।”

लघुकथा समाजका अध्यक्ष एवम् साहित्यकार श्रीओम श्रेष्ठले जीवनयात्रा कृतिमा समानताको वकालत र अपसंस्कृतिको तीब्र विरोध पाइने विचार व्यक्त गर्नुभयो ।

उहाँका अनुसार भाष्करका लघुकथामा समसामयिक विषय पाइन्छन् र कथाको अन्त्यले पाठकलाई एक प्रकारको झटका दिन्छ ।

समीक्षक प्रा.डा. श्रीधर गौतमले मगर अङ्कलका कथाहरू विकृतिविरूद्ध चेतना फैलाउने उद्देश्यले लेखिएको बताउँदै लेखकले आफ्ना कुरा निडरतापूर्वक राख्नुभएको उल्लेख गर्नुभयो ।

समीक्षक वसन्त महर्जनले आयुष्मानका कथाहरूमा कतिपय पात्र, स्थान, घटना र समय इतिहाससंग नमिल्ने बताउनु भयो । तथापि बौद्ध दर्शन बुझ्न बुझाउन यो कृतिले मद्दत गर्ने उहाँको भनाइ थियो ।

अध्यक्षको आसनबाट संस्थाका अध्यक्ष प्रमोद प्रधानले साहित्यकार भाष्करको सक्रियता र निरन्तरता सबैका लागि उदाहरणीय भएको चर्चा गर्नुभयो ।

आयोजक संस्थाका उपाध्यक्ष विजयराज आचार्यले संचालन गर्नुभएको उक्त कार्यक्रममा महासचिव अनन्त वाग्लेले स्वागत भाषण गर्नुभएको थियो ।

लेखक भाष्करले पुस्तक प्रकाशन र कार्यक्रम आयोजनाका लागि क्रमशः विवेक सिर्जनशील प्रकाशन र बालवाङ्मय तथा अनुसन्धान केन्द्रलाई धन्यवाद दिनुभएको थियो ।