हरेक वर्ष नयाँ नयाँ विधामा उत्कृष्ट साहित्यकर्मी खोजिरहेको कविडाँडा साहित्य समाज चितवनले यो वर्ष उत्कृष्ट पाँच निबन्धकारको खोजी गरेको छ । केही महिनाअघि सूचना जारी गरेर निबन्ध आव्हान गरेकोमा प्राप्त निबन्धहरुका आधारमा उत्कृष्ट पाँच निबन्धकार र उनीहरुको निबन्धको शीर्षक सार्वजनिक गरेको हो ।
यो वर्षका उत्कृष्ट पाँच निबन्धकारहरुमा कविको रुपमा स्थापित भइसकेका झापाका निरज दाहाल, काठमाडौँका साहित्यकार भवानी खतिवडा, रुपन्देहीका लेखक यज्ञप्रसाद न्यौपाने, स्याङ्जाका पत्रकार एवं साहित्यकार लक्ष्मण वियोगी तथा आख्यानकार सिर्जन अविरल रहेका छन् ।
निर्णायकहरुका अनुसार निरज दाहालको आमाको पछ्यौरी, भवानी खतिवडाको ट्याक्सी नम्बर १०१, ज्ञयप्रसाद न्यौपानेको रहरको घुम्तीमा विचारको कायाकल्प, लक्ष्मण वियोगीको कोरोनाको कर्खा र सिर्जन अविरलको जीवनको उकालो गरी उत्कृष्ट पाँच छानिएका हुन् ।
‘प्रतियोगिताका लागि प्राप्त दर्जनौँ निबन्धमध्ये हाम्रा निर्णायकहरुले उत्कृष्ट पाँच छान्नुभएको हो ।’ कविडाँडा समाजका अध्यक्ष एल.वि. क्षेत्रीले साहित्यपोस्टसँग भन्नुभयो, ‘हरेक वर्ष कुनै एउटा विधामा स्तरीय सामग्रीहरु खोज्ने क्रममा यसपटक हामीले उत्कृष्ट पाँच निबन्ध प्राप्त गर्यौँ, यो हाम्रा लागि खुसीको कुरा भएको छ ।’
यी पाँच निबन्धकारहरुलाई कविडाँडा साहित्य समाजको १९ औँ वार्षिकोत्सवका अवसरमा नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रम आगामी कार्तिक २७ गते चितवनको जङ्गल सफारी लजमा हुनेछ । उत्कृष्ट तीनको निणर्य त्यही कार्यक्रममा घोषणा गरिने जनाइएको छ ।
२०६० सालमा स्थापना भएको कवि डाँडा साहित्य समाजले हरेक वर्ष कविता प्रतियोगिताको आयोजना गर्छ । त्यसबाहेक आवश्यकताअनुसार आख्यान, समालोचना र निबन्ध प्रतियोगिताहरु र ती विधाका विमर्शहरुको कार्यक्रम पनि गरिरहन्छ ।
कविडाँडा समाजले ११ हजार १ सय ६० रुपैँयाको देवखिला स्मृति पुरस्कार र २५ हजार रुपैँयाको राष्ट्रिय आख्यान पुरस्कार पनि प्रदान गर्दै आएको छ ।
कविडाँडा समाजमा प्रतियोगी वर्षका उत्कृष्ट निबन्धकारहरुलाई साहित्यपोस्ट हार्दिक बधाइ ज्ञापन गर्दछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।