विराटनगरलाई कर्मथलो बनाएर साहित्य सेवामा लागेका उपन्यासकार भीम कोइरालाद्वारा लिखित महाभारत कथामा आधारित उपन्यास “विराटपर्व” २०७८ भाद्र २६ गते शनिबार विराट साहित्य सङ्गमको आयोजनामा प्राज्ञ विवश पोखरेल, विराट साहित्य सङ्गम विराटनगरका अध्यक्ष ऋतु आसीक, पूर्व न्यायाधीश एवं साहित्यकार भीमेन्द्र कार्की, साहित्यकारहरु देवी पन्थी, दिनेश श्रेष्ठ, मधु पोखरेल, सरला चापागाईँ, मान बज्राचार्य, गोपाल निर्भिक समेतले संयुक्तरुपमा लोकार्पण गर्नुभयो ।
उपन्यासका बारेमा हरि बराल, रामबाबु दाहाल र दिनेश श्रेष्ठ गरी तीनजना विद्धान स्रष्टाहरुले टिप्पणी गर्नुभएको थियो । साहित्यकार हरि बरालले उपन्यास विराटपर्वका विषयमा टिप्पणी गर्दै “कोइराला मोफसलमा बसेर कलम चलाउने एक सफल उपन्यासकार हुन् । हिन्दु धर्मको सांस्कृतिक बिरासतको रुपमा रहेको विश्वकै महान ग्रन्थ महाभारत कथामा आधारित भएर लेखिएको यो उपन्यास विराटपर्व भित्र केबल महाभारतको कथाको विषय मात्र नभई सर्जकले आफ्नो मौलिकता थपेर महाभारत कथामा वर्णन गरिएको पाँच पाण्डवहरुले विताएको गुप्तबासको एक बर्ष वर्तमान नेपालको उदयपुर जिल्लामा पर्ने त्रियुगा नदीदेखि पूर्व र मेची नदीदेखि पश्चिमको भूभाग अर्थात उदयपुर, सुनसरी ,धनकुटा, झापा र मोरंग जिल्लाको भूमि नै हो भन्ने प्रमाणित गर्ने प्रयास गरेका छन् । अति सरल र मीठो भाषा शैलीमा लेखिएको यो कृतिलाई एउटा उत्कृष्ट औपन्यासिक कृतिको कोटीमा राख्न सकिन्छ” भन्नुभयो ।
अर्का टिप्पणीकार रामबाबु दाहालले “यो विराटपर्व उपन्यासले वर्तमान नेपालको भूमि पनि महाभारत कालसम्म जोडिएको र हाम्रा आध्यात्मिक रामायण, महाभारत आदि ग्रन्थहरुमा उल्लेख गरिएका भगवान राम, तथा पाँच पाण्डवहरु वनबासको क्रममा नेपाल भूमिमा पनि रहेका थिए । यसकुरालाई हामीले ग्रन्थ लेखेर उजागर गर्न मात्र नसकेका हौँ । यो विराटपर्व उपन्यासका सर्जक भीम कोइरालाले यो कुरालाई उजागर गर्दै पाँच पाण्डवहरुलाई सुनसरी, झापा, मोरंग धनकुटा उदयपुर आदि स्थानहरुमा रहेका आध्यात्मिक स्थलहरुको भ्रमण गराई सांस्कृतिक राष्ट्र्वादको विगुल फुकेकाछन्।
उनीहरुले भ्रमण गरेका स्थानहरुमा चतरा, बराहक्षेत्र, विष्णुपादुका, पिण्डेश्वर, दन्तकाली, रामधुनी, सतासीधाम, अर्जुनधारा, केराबारी, लेटांग, मधुमल्ला, दमक माई, मेची नदी, कानेपोखरी, बेलबारी, इटहरी, गैसार लगायत हुन् । साथै पाण्डवले आफ्नो एक बर्षे गुप्तबास वर्तमान विराटनगर महानगरभित्र पर्ने बुधनगरस्थित (हाल अवशेस मात्र रहेको) भेडियारे दरवारमा विताएका थिए भनी प्रमाणित गर्ने प्रयास गरेका छन् । निकै मेहनत गरेर लेखिएको यो उपन्यासले महाभारतको विराटपर्वलाई मात्र नसमेटेर समस्त महाभारत कथालाई नै सारसंक्षेपमा खिचेर लेखि पाठकलाई बुझ्न सहज बनाएको छ । हेटान, महारानी देवलदेवी, उत्कर्ष–अवसान जस्ता उत्कृष्ट उपन्यास यस अघि नै लेखिसकेका सर्जक कोइरालालाई मोफसलमा बसेर लेख्ने एक सफल उपन्यासकारको रुपामा लिन सकिन्छ” भन्नुभयो ।
अर्का टिप्पणीकार विद्धान समालोचक दिनेश श्रेष्ठले राजधानी बाहिर बसेर पनि राम्रा उपन्यास लेख्न सक्ने कोइराला सफल उपन्यासकार हुन् । त्यसमा पनि यो विराटपर्व उपन्यासले त आञ्चालिकता मात्र नसमेटेर सांस्कृतिक विरासतलाईसमेत नेपालको भूमिसंग जोड्ने प्रयास गरेको छ, भन्नुभयो । प्राज्ञ विवश पोखरेलले उपन्यासकार कोइराला चालीसको दशकदेखि कै साहित्यिक साधनाका मेरा मित्र हुन् र यो सम्बन्ध अहिलेसम्म निरन्तर रहेको छ, भन्नुभयो । अबका दिनमा अझ उत्कृष्ट रचना कोइरालाले दिने आशा गर्नुहुँदै शुभकामना दिनुभयो । प्राध्यापक देवी पन्थीले मोफसलमा बसेर जतिनै राम्रा कृति लेखे पनि राजधानीको नजरमा कहिल्यै नपर्ने हुँदा भीम कोइराला जस्ता सफल उपन्यासकार पनि उपेक्षित भैरहन्छन् भन्नुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

