साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

राष्ट्रकवि पुरस्कार–२०७८ कवि कविराजलाई

बुटवल–६ मा अवस्थित नवजागृति पुस्तकालयले नेपाली साहित्यका मूर्धन्य प्रतिभा आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रकवि माधवप्रसाद घिमिरेका नाममा छ वटा साहित्यिक पुरस्कारको स्थापना गरेको छ ।

हरेक वर्ष सम्बन्धित कविको जन्मजयन्तीका अवसरमा प्रदान गरिने ती पुरस्कारमध्ये यस वर्षको राष्ट्रकवि माधव घिमिरे साहित्य पुरस्कार २०७८ असोज ७ गते राष्ट्रकविको जन्मजयन्तीका अवसरमा एक कार्यक्रमका बीच छन्दअभियन्ता कविराज पौडेललाई प्रदान गर्ने निर्णय भएको छ ।

कविराज यस क्षेत्रका निकै सशक्त र चर्चित छन्दकवि हुन् र उनले राष्ट्रिय स्तरमै योगदान पु¥याएका छन् । संस्कृतका वार्णिक छन्दलाई प्राचीन ग्रीक,ल्याटिन र अङ्ग्रेजीका छन्दसँग तुलना गर्ने कवि कविराज अनुसन्धाताका रूपमा पनि चिनिन्छन्। अन्तर्राष्ट्रिय छन्द दिवस घोषणाहेतु संयुक्त राष्ट्रसंघमा पत्राचार गर्ने तयारीमा रहेका कवि पौडेलले नेपालमै पहिलोपल्ट छन्दवादी समाज नेपाल नामक संस्था खोलेर र जिप्रकामा दर्तासमेत गरेर छन्दोन्नयनका निमित्त कोसेढुङ्गाको कार्यसमेत गरेका छन्।

छन्दअभियान्ता कवि कविराजको आधा दर्जन जति छन्दोबद्ध कृतिहरू प्रकाशित भइसकेका छन्। मूलतः छन्दोबद्ध कविताहरूको स्तरीकरण र विश्वव्यापीकरणको अभियानमा यिनको सक्रियता स्तुत्य देखिन्छ।

माधव घिमिरेको प्रेरणाबाट साहित्य सिर्जनामा लागेका कविराज घिमिरेको काव्य शैलीबाट निकै प्रभावित देखिन्छन् । यिनका काव्य सौन्दर्य घिमिरेकै समकक्षी देखिन्छन्। उनलाई सो पुरस्कार दिने निर्णय संस्थाका अध्यक्ष महेश्वर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गरेको कुरा सो संस्थाका वरिष्ठ सल्लाहकार तथा साहित्य समितिका संयोजक प्रा.डा.हिरण्यलाल ज्ञवालीले जानकारी गराए । सो समितिमा कृष्णप्रसाद कोइराला सहसंयोजक रहेका छन् भने त्रिविक्रम श्रेष्ठ, अम्बिका पौडेल र चक्रपाणि डुम्रे सदस्य रहेका छन् । संस्थाका अध्यक्ष श्री महेश्वरप्रसाद श्रेष्ठ साहित्य समितिका संरक्षक रहेका छन् ।

प्रतिक्रिया
Loading...