साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘प्रज्ञा बालकविता महोत्सव–२०७८’ सम्पन्न

राष्ट्रिय बाल दिवस–२०७८ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा ‘प्रज्ञा बालकविता महोत्सव–२०७८’ सम्पन्न भएको छ । करिब ३५ जना बालबालिकाका कविता वाचन, कार्यपत्र प्रस्तुति तथा मन्तव्य ज्ञापन गर्दै भर्चुअल प्रविधिबाट ‘प्रज्ञा बालकविता महोत्सव–२०७८’ सम्पन्न भएको हो ।

कार्यक्रमको सभाध्यक्ष प्रज्ञा बालकविता महोत्सवका संयोजक, प्राज्ञ परिषद् सदस्य तथा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले गर्नुभएको थियो । कार्यक्रमको मुख्य उपस्थिति प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती रहनुभएको थियो । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्त, प्राज्ञ परिषद् सदस्य तथा भाषा (मातृभाषा, कोष र व्याकरण) विभाग प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख प्रा.डा. उषा ठाकुर, प्राज्ञ परिषद् सदस्य तथा साहित्य (गद्य÷आख्यान) विभाग प्रमुख माया ठकुरी, प्राज्ञ परिषद् सदस्य तथा साहित्य (समालोचना र निबन्ध) विभाग प्रमुख प्रा.डा. गोपीन्द्र पौडेल, प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा साहित्य) विभाग प्रमुख लक्ष्मी माली, प्राज्ञ सभाका सदस्यहरु, प्रतिष्ठानका आजीवन सदस्यहरु, मानार्थ प्राज्ञ सदस्यहरु, प्राज्ञ परिषद्का पूर्वपदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमोद प्रधान कार्यपत्र प्रस्तोताका रुपमा उपस्थित रहनुभएको थियो । नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपाने, वरिष्ठ बालसाहित्यकार शैलेन्दुप्रकाश नेपाल र प्रतिवेदकको रुपमा आजको खबर डटकमका सम्पादक डिल्लीरमण सुवेदीको भौतिक रुपमा सभाहलमा उपस्थिति रहेको थियो । कार्यक्रममा भर्चुअल रुपमा एक सयजना भन्दा बढी बालकवि, बालसाहित्यकार तथा बालसाहित्यप्रेमीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले राष्ट्रिय बालदिवसको अवसरमा बालसाहित्यको प्रवद्र्धनका निमित्त बालकविता महोत्सव आयोजना गरिएको उल्लेख गर्नुभयो । बालबालिकाहरु नयाँ शिल्प र सिर्जनशीलताका साथ अगाडि आइरहेको भन्दै उहाँले यस्ता कार्यक्रमले उनीलाई प्रस्फुटित गराउने बताउनु भयो । बालबालिकाको समूहले भोलि देश निर्माण गर्ने भएकोले त्यसका लागि हामीले आधार तयार गरिदिनु पर्ने उहाँले बताउनु भयो । यसका लागि हामी अभिभावकको जिम्मेवारी महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।

जोसँग सपना छ, कल्पना शक्ति छ र नयाँ ढंगले हिड्ने चाहना छ उनीहरुलाई साथ र सहयोग चाहिने भन्दै कूलपति उप्रेतीले साहित्यको क्षेत्रमा प्रतिष्ठानले भूमिका खेल्न खोजेको बताउनु भयो । प्रदेश स्तरमा पनि बालसाहित्यको प्रवद्र्धनका निमित्त प्रतिष्ठानले पहल गरिरहेको उहाँले बताउनु भयो । बालसाहित्य विभाग बनेपछि धेरै काम गर्न सकिएको उहाँले जानकारी दिनुभयो । बालप्रज्ञा पत्रिका नियमित प्रकाशित भएको उल्लेख गर्दै बालसाहित्यको क्षेत्रमा अन्य विधा र कृतिहरुले निरन्तरता पाउने उहाँले बताउनु भयो । नेपाली साहित्यको जग बलियो बनाउन बालसाहित्यलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यो काम प्रतिष्ठानले थालेको उहाँले बताउनु भयो । महोत्सवमा प्रस्तुत कविताले बालमनोविज्ञान कुन क्षेत्रमा केन्द्रित छ भन्ने जानकारी प्राप्त भएको उहाँले बताउनु भयो । कविताको मार्फतबाट बालमनोविज्ञान, देशप्रेम, नैतिकता, अनुशासनलगायतका कुरा आएको उहाँको भनाई थियो ।

कविता वाचनपछि तेस्रो अर्थात् समापन सत्रमा नेपाल प्रज्ञ–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो । मन्तव्य व्यक्त गर्दै उपकूलपति डा. गुरुङले महोत्सवमा सहभागी बालबालिकाहरु अनेकन ताराबिचका २७ नक्षत्रजस्तै नक्षत्र भएको बताउनु भयो । जयस्थिति मल्लको पालामा आफ्ना सन्तानलाई पढाउन संस्कृत भाषामा ‘बालविनोदिनी’ शीर्षकको पुस्तक लेखाएको उल्लेख गर्दै बालसाहित्यको इतिहास त्यहाँबाट सुरु भएको उहाँले उल्लेख गर्नुभयो । त्यो भन्दा अघिका समय अध्ययनको विषय भएको भन्दै उहाँले नेपाल बालसाहित्यको आदीभूमि भएको उल्लेख गर्नुभयो । विश्वमा बालसाहित्यको नाम पनि नसुनिएको अवस्थामा नेपालमा बालसाहित्यले विकसित रुप लिइसकेको उहाँले बताउनु भयो ।

कार्यक्रममा गहन र गम्भीर कार्यपत्र प्रस्तुत गरेको भन्दै कार्यपत्र प्रस्तोता प्रमोद प्रधानलाई उहाँले धन्यवादसमेत ज्ञापन गर्नुभयो । कार्यपत्रले धेरै सूचना र जानकारी दिन सकेको उहाँले बताउनु भयो । आगामी डिसेम्बरमा बंगलादेशमा विश्वका बालसाहित्यमा काम गर्ने संघसंस्थाहरुको सम्मेलन हुने जानकारी दिँदै त्यसमा प्रतिष्ठानको पनि सहभागिता रहने उहाँले बताउनु भयो ।

भर्चुअल प्रविधि जुम र भौतिक रुपमा उपस्थित अतिथिहरुलाई प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्वागत गर्नुभएको थियो । सन्ताउन्नौँ राष्ट्रिय बाल दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय नारा ‘सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा बालदिवस मनाइँदैछ । यो अवसरमा बालबालिकाको हकअधिकारको क्षेत्रमा काम गर्ने संघ, संस्था तथा सम्पूर्ण बालबालिकालाई उहाँले शुभकामना दिनुभयो ।

वि.सं. २०२२ सालदेखि भदौ ४ गतेलाई बालदिवसको रुपमा मनाउने गरिएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको महासन्धिमा हस्ताक्षर गरेको आधारमा २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि नेपालमा भदौ २९ गतेलाई बालदिवसको रुपमा मनाउन थालिएको उहाँले उल्लेख गर्नुभयो । नेपालको संविधान २०७२ मा बालबालिकाको हक, अधिकारसम्बन्धी व्यवस्था गरेको उल्लेख गर्दै सदस्य सचिव उपाध्यायले बालदिवसलाई अवसर बनाएर नेपाली भाषामा बालकविता लेख्ने कविहरुलाई सहभागी गराएर यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । बालसाहित्य विभाग गठन भएपछिको पहिलो वृहत कार्यक्रम भएको भन्दै आयोजक डा. देवी नेपाललाई शुभकामना र धन्यवाद दिनुभयो ।

बालबालिकाको उन्नयनकालागि भनेरै प्रतिष्ठानमा बालसाहित्य विभाग गठन गरिएको उहाँले उल्लेख गर्नुभयो । प्रतिष्ठानबाट बालकविता, बालसमालोचना, बालनियात्रा, बालनिबन्ध, बालकथा, बालसाहित्य सिद्धान्त र अन्य बालसाहित्यका पुस्तकहरु प्रकाशन भइरहेको उहाँले बताउनु भयो । बालसाहित्यको समालोचना गर्ने उद्देश्यले नयाँ परियोजना सुरु भएको पनि उहाँले जानकारी गराउनु भयो । वि.सं. १९४९ मा पहिलो पटक बालपुस्तक वा बालपाठ्य सामग्री प्रकाशित भएको उल्लेख गर्दै नेपाली साहित्यकारहरुले बालसाहित्यमा दिएको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

बालसाहित्य लेख्दा बालअपमान, बालमनोविज्ञान र बाल संवेदनशीलतामा आघात पर्ने शब्द, वाक्य तथा विषयवस्तु समावेश हुने गरेकोले भन्दै त्यो अन्त्य हुनुपर्ने उहाँको धारणा थियो । बालसाहित्य बालबालिकाका लागि पुष्टकारी हुनुपर्ने र बालबालिकाको मनोविज्ञान दह्रो बनाउन सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो ।

बालबालिकालाई दण्ड, जरिवाना वा डर, धक्कीका आधारमा नभई स्वतन्त्र र खेलको माध्यमबाट अध्यापन गराउनु पर्ने उहाँले बताउनु भयो । बालसाहित्य लेखनमा पनि बालमनोविज्ञानलाई आधार मानेर रचनाहरु लेखिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । आजको कार्यक्रमले अहिलेका बालसाहित्यकार र बालबालिकाहरु कुन धारा वा पक्षमा आधारित रहेर कलम चलाइरहेका छन् भन्ने जानकारी हुने बताउँदै सो अनुसार बालसाहित्यको समालोचना गर्न सहज हुने उहाँले बताउनु भयो ।

प्रज्ञा बालकविता महोत्सव–२०७८ को औचित्यमाथि प्रकाश पार्दै प्राज्ञ परिषद् सदस्य तथा साहित्य (कविता÷काव्य) विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले कस्तो उमेरका बालबालिका भन्ने सन्दर्भमा १८ वर्ष उमेर मुनिकालाई भन्ने कानूनले नै तोकेको र त्यो संख्या ४० प्रतिशत रहेको उहाँले उल्लेख गर्नुभयो । सो समूहलाई लक्षित गरि आयोजना गरिएको यो कार्यक्रम औचित्यपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । झण्डै आधा जनसंख्यालाई लक्षित गरि यो पटक बालकविताको कार्यक्रम आयोजना गरिएको उहाँको भनाई थियो ।

प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव र मातृभाषा राष्ट्रिय कविता महोत्सव मात्रै मनाउने गरेको उल्लेख गर्दै २०७६ सालबाट प्रज्ञा गजल महोत्सव सुरु भएको र आजबाट प्रज्ञा बालसाहित्य महोत्सवको पनि सुरुवात भएको उल्लेख गर्नुभयो । बालसाहित्यका क्षेत्रमा विभिन्न संघ, संस्था तथा व्यक्तिहरुले महत्वपूर्ण कार्य गरिरहेको उल्लेख गर्दै उहाँले बालसाहित्यको समृद्धिका लागि प्रतिष्ठानले पनि बालप्रज्ञा नामक पत्रिकाको प्रकाशन पनि सुरु गरेको बताउनु भयो । यो कार्यकालागि विभागले महत्वपूर्ण जिम्मेवारी लिएको उहाँले उल्लेख गर्नुभयो ।

बालबालिका काँचो माटो भएकोले त्यसलाई कुन रुपमा विकास गर्ने भन्ने कुरामा अभिभावक जिम्मेवार रहनु पर्ने उहाँले बताउनु भयो । बालबालिकालाई विचारवान र सशक्त बनाउन बालसाहित्यको भूमिका अहम् हुने उहाँको भनाई थियो । हिजोको पुस्ताले भोगेको बाल्यकाल र अहिलेको बाल्यकालमा फरक भएको भन्दै उहाँले आजका बालबालिकाको चेतनाको स्तर अब्बल र फरक रहेको बताउनु भयो । बालबालिकाको सोचाइ, चिन्तन र मस्तिस्कलाई विचार गरेर अभिभावकले व्यवहार गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बालबालिकाकलाई अनुशासित बनाउन, आशावादी बन्न सिकाउनु, उत्तरदायी बन्न सिकाउनु हाम्रो जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।’

साहित्यले मानिसलाई सुसंस्कृत बनाउँछ, जिम्मेवार बनाउँछ, सिर्जनशील बनाउँछ भन्दै उहाँले आजको कार्यक्रम सोही उद्देश्यले आयोजना गरिएको बताउनु भयो । बालसाहित्य बालबालिकाले लेख्ने साहित्य मात्रै नभई बालबालिकाहरुका लागि लेखिएको साहित्य भएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा बालबालिकाहरुलाई नै प्राथमिकता दिने उद्देश्यले यो महोत्सवमा प्रायः बालकविहरुलाई समावेश गरिएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा देशका विभिन्न जिल्लाबाट करिब २७ जना बालकविहरु सहभागी रहेको र विदेशबाट १३ जना बालकविहरु सहभागी भएको उहाँले जानकारी दिनुभयो ।

नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले कार्यक्रमलाई सम्बोधन गर्दै सबैलाई शुभकामना दिनुभयो । बालबालिकाको क्षेत्रमा कार्यरत अभियन्ताको रुपमा आफू लागिपरेको उल्लेख गर्दै साहित्यको माध्यमबाट मानिसको चेतनामा परिवर्तन आउने उहाँले बताउनु भयो । भाषा र साहित्य मूल जरो भएको भन्दै अहिले भाषा र साहित्यको खुट्टा भाँचिएको उहाँले बताउनु भयो । जसले गर्दा भाषा लेखनमा अशुद्धि तथा साहित्यमा गुणस्तर नभएको उल्लेख गर्नुभयो । नेपालले ५७ औँ बालदिवस मनाउने गरे पनि २०१९ सालमा प्रतिष्ठानबाटै प्रकाशित पत्रिकामा तत्कालीन श्री ५ महेन्द्रबाट बालदिवसको शुभकामना दिएको पाएको उहाँले बताउनु भयो । यसले पनि बालदिवसको स्थापना दिवस पुनरावलोकन गर्नुपर्ने उहाँले बताउनु भयो ।

नेपालमा ४१.७ प्रतिशत बालबालिका रहेको उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा धेरै कार्य गर्नुपर्ने अवाश्यकता रहेको उहाँको भनाई थियो । जसकालागि प्रज्ञाले सुरु गरेको महोत्सव कोशेढुङ्गा भएको बताउनु भयो । कार्यक्रमको दोस्रो खण्ड अर्थात् बालकविता वाचन कार्यक्रममा पहिलो पटक झापाबाट बालिका गरिमा न्यौपानेले ‘शब्दहरु’ शीर्षकको कविता सुनाउनु भएको थियो । यसै गरी बेलायतबाट बालिका अंशु केसीले ‘मानव जीवन’ शीर्षकको कविता वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा मकवानपुरबाट कवि समर्पण न्यौपानेले ‘बालश्रम’ शीर्षकको कविता, बंगलादेशबाट कवि अपिल पौडेलले ‘नेपाल स्वर्ग हो’ शीर्षकको कविता, झापाबाट कवि अलका खतिवडाले ‘अठोट’ शीर्षकको कविता, अमेरिकाबाट कवि रोजी गौतमले ‘आमा’ शीर्षकको कविता सुनाउनु भएको थियो ।

कार्यक्रमकैबिचमा वरिष्ठ बालसाहित्यकार प्रमोद प्रधानले ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा बालसाहित्यको इतिहास, नेपाली भाषामा बालसाहित्य, लोकसाहित्य, लिखित बालसाहित्य, नेपाली बालसाहित्यको विधागत स्थिति, बालसाहित्य कृतिमा गुणवत्ताको प्रश्न, उमेरअनुसारका रचना, बालसाहित्य सम्पादन, चित्राङ्कन, लेआउट, डिजाइन, मुद्रण प्रविधि, अन्य राष्ट्रिय भाषामा बालसाहित्य, बालपुस्तक बिक्रीको स्थिति, प्रज्ञा–प्रतिष्ठान र नेपाली बालसाहित्यजस्ता विषयवस्तु समेटिएका थिए ।

प्रमोद प्रधानको कार्यपत्र प्रस्तुतिपछि तनहुँबाट आयुष्मा ढकालले ‘माहुरी र झिंगा’ शीर्षकको कविता सुनाउनु भएको थियो । यसैगरी नवलपरासीबाट आयुष्मा तिवारीले ‘मेरो देश’ शीर्षकको कविता, सुनसरीबाट विभूति काफ्लेले ‘मोबाइल’ शीर्षकको कविता, भक्तपुरबाट चक्षु भट्टराईले ‘छन्द’ शीर्षकको कविता, जापानबाट प्रविना बरालले ‘मातृवन्दना’ शीर्षकको कविता, कास्कीबाट आर्या त्रिपाठीले ‘बुद्ध र मेरो देश’ शीर्षकको कविता, काठमाडौँबाट अनुश्री आचार्यले ‘आदर्श हुन् गुरु’ शीर्षकको कविता, भारत, कालिम्पोङबाट विपना कार्कीले ‘फरक’ शीर्षकको कविता, कपिलवस्तुबाट जोशिका कँडेल ‘निशा’ ले ‘नेपाल मेरो घर’ शीर्षकको कविता, बर्माबाट दीव्य लक्ष्मी खनालले ‘हाम्रो समाज’ शीर्षकको कविता, स्याङ्जाबाट अस्मित भुसालले ‘निर्धन कर्णधार’ शीर्षकको कविता, भारतको मणिपुरबाट जानवी थापाले ‘भ्यागुता’ शीर्षकको कविता, रुपन्देहीबाट प्रिन्सु पौडेलले ‘मेरो देश’ शीर्षकको कविता, बाराबाट कवि साहिल जयसवालले ‘अत्मप्रश्न’ शीर्षकको कविता, युएई, अबुधावीबाट करुणा घिमिरेले ‘नफक्रेको फूल’ शीर्षकको कविता, रोल्पाबाट अर्चितबाबु मर्सिफूलले ‘शिक्षा’ शीर्षकको कविता, कैलालीबाट विभूति अधिकारीले ‘म बालक’ शीर्षकको कविता, मकवानपुरबाट प्रतीक कर्णले ‘बालअधिकार’ शीर्षकको कविता, बर्दियाबाट प्राश्ना सुवेदीले ‘समय यात्रा’ शीर्षकको कविता, पोर्चुगलबाट मानस्वी खरालले ‘आमा’ शीर्षकको कविता, मोरङबाट सौराग्य अधिकारीले नारी शीर्षकको कविता, दैलेखबाट मुना थापा मगरले ‘म, कविता अनि कवि सपना’ शीर्षकको कविता, दार्चुलाबाट सङ्गीता पार्कीले ‘मेरो देश’ शीर्षकको कविता, नुवाकोटबाट पुष्कल किरणले ‘हिमाल’ शीर्षकको कविता, नुवाकोटबाटै सुविन रिमालले ‘आमालाई पत्र’ शीर्षकको कविता, सुर्खेतबाट स्वस्तिका केसीले ‘आत्मप्रेम’ शीर्षकको कविता, बर्दियाबाट अजय विश्वकर्माले ‘सडकमा बालदिवस’ शीर्षकको कविता, शिरीष बन्जाडेले ‘पैसाबिना के छ र ?’ काठमाडौँबाट आँचल अधिकारीले ‘म पन्छी’ शीर्षकको कविता वाचन गरेर सुनाउनु भएको थियो ।

कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले बालसाहित्यको प्रवद्र्धनका लागि यो महोत्सव आयोजना गरिएको बताउनु भयो । देशभरिबाट ४० जना बालबालिका छनौट गरिएको र जसमध्ये ३५ जना जोडिएर कविता प्रस्तुत गरेको उहाँले जानकारी दिनु भयो । सहभागी बालप्रतिभाहरुलाई प्रतिष्ठानले प्रमाणपत्र उपलब्ध गराउने र बालप्रज्ञाको आगामी अंकमा ती कविताहरुलाई प्रकाशन गर्ने पनि उहाँले जानकारी दिनु भयो ।

लोकवार्ता विभाग अन्तर्गत लोकसाहित्य सिद्धान्त, प्रज्ञा लोककथा, गोर्खाली युद्धबन्दीका लोककथा र भाका भियनाबाट खोजेर ल्याएर प्रकाशन गरेको, लोकरामायण प्रकाशनको चरण, पूर्वेली लोकसंगीत प्रकाशनको चरणमा रहेको उहाँले जानकारी दिनुभयो । यसै गरी बालसाहित्य विभाग अन्तर्गत बालकविता, बालगजल, बालनियात्रा, बालसमालोचनलगायतका पुस्तकहरु प्रकाशित भइरहेको उहाँले बताउनु भयो । मातृभाषाका बालकविताहरुको प्रकाशनको योजना र बालसाहित्यको इतिहास सातै प्रदेश र विश्वभरबाट खोजी गरि लेखनको कार्य भइरहेको पनि उहाँले जानकारी दिनु भयो ।

आगामी वर्षहरुमा पनि प्रज्ञा बालकविता महोत्सवलाई निरन्तरता दिने उहाँले बताउनु भयो । दुई दिने बालसाहित्य महोत्सव गर्ने योजना रहे पनि यो वर्ष कोभिड–१९ को महामारीका कारण सम्भव नभएको उहाँले बताउनु भयो । सम्भव भए अर्को वर्ष सो कार्यक्रम आयोजना गर्ने उहाँले बताउनु भयो । विदेशमा रहने बालबालिकाहरु मध्यरातमा उठेर, कक्षा कोठाबाटै जोडिएर, अनलाइन कक्षालाई एकछिन थाँती राखेर भए पनि महोत्सवमा कविता वाचन गरेको भन्दै सम्पूर्ण बालबालिकालाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नु भयो, ‘यो इतिहास निर्माणको कार्य भएकोले ज–जसले जुन ठाउँबाट सहयोग गर्नुभयो उहाँहरुलाई धन्यवाद ।’ आजको महोत्सवमा जोडिन नसकेका बालकविहरुलाई आगामी दिनमा पनि बालप्रज्ञा पत्रिका स्थान दिने उहाँले बताउनु भयो ।

प्रतिक्रिया
Loading...