राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ६ जना साहित्यकारहरूको संयुक्त कवितासङ्ग्रह “निशेधाज्ञाका प्रतिबिम्बहरू”सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित सबैले पुस्तक हातमा लिएर संयुक्त कवितासङ्ग्रहको विमोचन गरियो ।

‘निषेधाज्ञाका प्रतिविम्बहरू’ विमोचन गर्दै कवि तथा लेखकमा सरस्वती तथा व्यासको बौद्धिक अंश हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

६ जना कविहरू ऋषभदेव घिमिरे, मधु पाठक, रञ्जना निरौला, डा. शान्तिमाया गिरी, सुमन वर्षा र सुषमा आचार्य अंशुले कोरोना कालखण्डमा तयार गर्नुभएका कविताहरू सङ्कलित सङ्ग्रहले एउटा कालखण्डको भोगाइ प्रदर्शन गर्ने विचार व्यक्त गर्दै उपकुलपति गुरुङले कविता लेख्ने खासगरी नारीले मानव वेदनालाई नजिकबाट चित्रण गर्नसक्ने बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सन्ध्या पहाडीले राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशित गरेको संग्रह कोभिड र निशेधाज्ञा बिचको कोशेढुङ्गा हो भन्ने धारणा राख्नुभयो।

नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले सङ्कलित कवितामा विभिन्न रस, विचार, पीडा र दृश्य रहेका छन् भन्नुभयो । लघु कथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले संयुक्त कविता सङ्ग्रह प्रकाशन गर्नु श्रम र साधनाका दृष्टिले निकै चुनौतीपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।

नेपाल साहित्यकार संघका अध्यक्ष राधेश्याम लेकालीले कोरोनाको सामाजिक पक्षलाई सङ्ग्रहले स्पष्ट गर्ने छ भन्नुभयो । सोही अबसरमा साहित्यकार डा.रेणुका थापाले सबैमा शुभेच्छा प्रकट गर्नु भएको थियो। सङ्ग्रहको समीक्षा गर्दै डा. विन्दु शर्माले एउटै र निर्धारित विषयमा कविता लेख्दा सौन्दर्य पक्षमा प्रभाव पर्न सक्ने तर यो सङ्ग्रहले समग्रमा मानवताको पक्षमा सन्देश दिएको विचार व्यक्त गर्नुभयो ।

प्रकाशनका लागि आर्थिक सहयोग गर्नुहुने भानु प्रतिष्ठानका कोषाध्यक्ष एवं राष्ट्रिका साहित्य प्रतिष्ठानका संस्थापक सदस्य हरिबोल ढकाललाई सम्मान गरिएको थियो ।

विमोचनपश्चात् ६ जना स्रष्टाहरू क्रमश सुषमा आचार्य, मधु पाठक,रञ्जना निरौला,शान्तिमाया गिरी,सुमन वर्षा र ऋषभ घिमिरेले आफ्नो कविता वाचन गर्नुभयो ।

कोरोनाले पारेको असर,सर्जकमा भएका भाव,सन्देश र समसामयिक रचनाहरू सङ्ग्रहित उक्त संग्रहको समिक्षात्मक टिप्पणी गर्दै डा.बिन्दु शर्माले गर्ने वर्तमान समय, कोभिडकाल,निशेधाज्ञा तथा उक्त समयमा घटित घटना,भोगाइ आदिको विषय र समय त्रासदीको प्रतिनिधित्व गराउदै कविहरूले एकै विषयमा फरक फरक भाव बिम्ब र प्रस्तुति रहेको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बोल्नु हुँदै वरिष्ठ साहित्यकार अशेष मल्लले यो संग्रह कोभिड-१९ तथा निशेधाज्ञाकालको पहिलो काव्य सङ्ग्रहको रुपमा आएको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिका साहित्य प्रतिष्ठानका महासचिव मधु पाठकले स्वागत गर्नु भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष डा.शान्तिमाया गिरीले संस्थागत अवधारणा तथा कविता संग्रहको रचना गर्भबारे प्रकाश पार्नु भएको थियो ।

रञ्जना निरौला तथा सुमन वर्षाको सम्पादकत्वमा प्रकाशित संग्रह भित्र ६ स्रष्टाका १३/१३ विभिन्न विषयमाथि लेखिएका ७८ कविता रहेका छन् । विमोचन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको सभापतित्वमा भएको थियो ।