नारी स्रष्टा समाज प्रदेश एक, विराटनगरको आयोजनामा मञ्जुश्री गिरीको “सपनाको सिरानी” मुक्तकसङ्ग्रह विमोचित भएको छ । भाद्र २५ गते गुगल मिटबाट कार्यक्रमको आयोजना भएको थियो ।

वरिष्ठ नाट्यकर्मी साहित्यकार अशेष मल्ल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा प्राज्ञ गङ्गा सुवेदी र समालोचक डा. मुरारी पराजुली, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन विशिष्ट अतिथि हुनुहुन्थ्यो भने मुक्तक प्रतिष्ठान नेपाल प्रदेश एकका अध्यक्ष बाबुराम पोखरेल, सञ्चारकर्मी दीपक लोहनी, साहित्यकार शिव त्रिपाठी अतिथि रहनु भएको थियो ।

दीपक लोहनी र डा. मुरारी पराजुलीले कृतिका बारेमा समीक्षा गर्नुभएको थियो । कृतिको सबल पक्ष र दुर्बल पक्षको चर्चा गर्दै बाबुराम पोखरेल र गङ्गा सुवेदीले धन्यवाद ज्ञापन गर्नुभयो ।

“लामो कार्यक्रम गर्दा दर्शक भाग्ने समस्या हुने र सङ्ख्यात्मक रचनालाई मात्र ठाउँ दिँदा पाठक हराउने समस्या हुने हुँदा एक घण्टाभित्र कार्यक्रम सक्नुपर्ने र गुणात्मक रचनालाई मात्रै लेखकले सङ्गृहीत गर्नुपर्ने,” धारणा प्रमुख अतिथि अशेष मल्लले राख्नु भएको थियो ।

आफ्नो केही थान मुक्तक वाचन गर्दै मुक्तककार मञ्जुश्री गिरीले भनाइ राख्नुभएको थियो । कार्यक्रम सञ्चालन साहित्यकार रामकुमार पण्डित क्षेत्रीले गर्नुभएको थियो भने शिव त्रिपाठीले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व नारी स्रष्टा समाज प्रदेश एककी अध्यक्ष ममता मृदुलले गर्नुभएको थियो ।