साहित्यकार पतिपत्नीद्वय राजेन्द्रप्रसाद अर्याल र सीता अर्यालद्वारा रचित बेग्ला बेग्लै दुई गीतहरूको अडियो २०७८ भाद्र २३ गते बुधवारका दिन ईमेज एफ. एम.(९७.९) बाट नेपाली समयानुसार बिहान ११.०० देखि १२.०० बजेसम्मको एक कार्यक्रममा प्रशारण गरी लोकार्पण सम्पन्न भयो।
गीतकार राजेन्द्र अर्यालबाट रचना गरिएको “ जून ठानी दिलमा राखेँ “ बोलको गीतको गायक किरण भुजेल अनि एरेन्जर सचिन सिंह हुनुहुन्छ। त्यस्तै गीतकार सीता अर्यालबाट रचना गरिएको “ हेर्न मन लाग्दो रैछ “ बोलको गीतको गायक शिव परियार, एरेन्जर प्रदिप श्रेष्ठ हुनुहुन्छ। उल्लेखित दुबै गीतहरूमा सङ्गीत भर्ने काम प्राज्ञ सङ्गीतकार सुनिल मास्केले गर्नु भएको छ।
एउटा विशेष समारोहका बीच ईमेज एफएमका स्टेशन म्यानेजर कृष्ण आचार्य र सन्चाकर्मी एवं प्रख्यात आरजे नरेश भट्टराई द्वयले लोकार्पण गर्दै यी दुवै गीतहरूले श्रोताहरूको हृदयमा बास बस्न सकून् भन्दै सफलताको शुभकामना व्यक्त गर्नु भयो। अडियो लोकार्पण समारोहमा प्राज्ञ सङ्गीतकार सुनिल मास्के र एरेन्जर प्रदीप श्रेष्ठको पनि उपस्थिति थियो।
गोरखा स्थायी घर भएका गीतकार दम्पति हाल अमेरिकामा सपरिवार बस्दै आउनु भएको छ। विदेशमा रहेर पनि विभिन्न पुस्तकहरू लेखेर एवं सङ्घ/ सङ्गठनमा आबध्द भएर नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृध्दिमा निरन्तर लागिरहनु भएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।