नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालबाट सञ्चालित ‘छन्द–तरङ्ग’ले ‘छन्दसाधना पुरस्कार–२०७८’ प्राध्यापक, समालोचक, कवि तथा नेपाली छन्दकविताका अथक साधक वरिष्ठ कवि प्रा. घनश्याम कँडेललाई प्रदान गर्ने निर्णय गरेको छ ।

२०७६ बाट हरेक वर्ष छन्दकविताका एक जना विशिष्ट साधकलाई प्रदान गरिँदै आएको उक्त पुरस्कार यसअघि कवि रमेश खकुरेल र चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गरिएको थियो ।

नेपाली कविताको इतिहासमा शास्त्रीय छन्दलाई युगानुकूल बनाउन, सूक्तिपूर्ण स्वरूप प्रदान गर्न, समाजबोध र जीवनबोधको उच्च गरिमा प्रदान गर्न सयौँ फुटकर कविता, आधा दर्जन खण्डकाव्य र एउटा महाकाव्यको सिर्जना गरी नेपाली छन्दकविताको उन्नयनमा अतुलनीय योगदान दिएबापत वरिष्ठ कवि प्रा. घनश्याम कँडेललाई उक्त पुरस्कार प्रदान गरिएको कुरा छन्द–तरङ्गबाट प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगत तीन वर्षदेखि काठमाडौँको बानेश्वर थापागाउँमा रहेको लेखनकुञ्जमा हरेक महिनाको तेस्रो शुक्रबार फरक फरक पुस्ताका तीन जना कविका पाँच पाँचओटा कविता प्रस्तुत गर्ने गरी सञ्चालन हुँदै आएको नेपाली कविताको इतिहासमा नै ऐतिहासिक महत्त्व राख्ने सशुल्क छन्दकविता श्रवणको मासिक कार्यक्रम १९ औँ शृङ्खलासम्म अनवरत रूपमा सञ्चालन भएर विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराना (कोभिड–१९) का कारण २०७६ चैत्र महिनादेखि स्थगित भए पनि पुरस्कारलाई भने निरन्तरता दिइएको छन्द–तरङ्गले जनाएको छ ।

परिस्थिति सहज हुनासाथ एक भव्य कार्यक्रमको आयोजना गरी २०७७ र २०७८ दुवै वर्षका पुरस्कारहरू एकैसाथ प्रदान गरिने कुराको जानकारी छन्द–तरङ्गका संयोजकमध्येका एक प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ । उक्त पुरस्कारको राशि नगद रु. २५,०००, दोसल्ला र प्रमाण–पत्र रहेको छ ।