मदन पुरस्कार विजेता तथा मर्यादित महिनावारीकी सामाजिक अभियन्ता राधा पौडेलको बाल्यकालिन संस्मरण ‘रोल नम्बर एक’ प्रकाशित भएको छ ।

‘रोल नम्बर एक’ समाजमा व्याप्त अन्धविश्वासको भुमरीभित्र एउटी बालिकाले किशोरी बन्दासम्म खेपेका पिडाको पेटारो हो । बाल्यकालमा अब्बल बन्ने र छोरीहरुलाई हेर्ने हेयात्मक दृष्टि बदल्ने लेखकको सपनाले सृजना गरेका परिदृश्य नै यस पुस्तकमा समेटिएको छ । महिला र पुरुषबिच समानताको चाहले बाल्यकालमै अंकुरित विद्रोहको स्वर किशोरावस्थासम्म पुग्दा कसरी झांगियो, पौडेलको बाल्कालिन संस्मरण त्यसैको नालीबेली हो ।

पौडेल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुहुन्छ । ‘खलङ्गामा हमला’ पुस्तकका लागि उहाँले मदनपुरस्कार पनि प्राप्त गर्नुभएको छ । मर्यादित र सुरक्षित महिनावारीका बिषयमा उहाँका तीन पुस्तक प्रकाशित भइसकेका छन् भने ‘रोल नम्बर एक’ उहाँको पहिलो बाल्यकालिन संस्मरण हो ।

यस पुस्तकले नेपाली महिलाहरुको समान र सम्मानपूर्वक बाँच्ने चाहको संघर्षका बारेमा हामी सबैलाई बोध त गराउँछ नै, आज पनि बालिकाहरुले विभेदसँग झुत्ती खेल्दै बाँच्नुपरेको कुरालाई पनि सम्झाउँछ । यस पुस्तकले लेखकका बाल्यकालिन संस्मरणका माध्यमबाट नेपाली समाजमा छोरीहरुको समान र सम्मानपूवक बाँच्ने अधिकारका लागि पैरवी गर्न हामी सबैलाई प्रेरित गर्नेछ ।

सांग्रीला बुक्सले प्रकाशन गरेको ‘ रोल नम्बर एक ‘को मूल्य रु २७५/- रहेको छ ।