वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टकाे आज राति ३ बजे निधन भएकाे छ । ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट उहाँको निधन भएको हो ।

केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत् रहनुभएका भट्टलाई घरमै अक्सिजन दिएर भाइ डा. अर्जुनदेव भट्टले रेखदेख गरिरहनुभएको थियो ।

गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आउनुभएका उहाँको आज बिहान निधन भएको हो ।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उहाँका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उहाँका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लगायत कृति लोकप्रिय छन् ।

विसं १९९३ मा जुम्लामा जन्मनुभएका भएका उहाँ प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँको शव श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्राडा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।

भट्टका श्रीमती र दुई छोरा छन् ।