१५ अगस्त २०२१, तदनुसार ३१ साउन २०७८ का दिन पर्यावरण साहित्यमा अन्तर्राष्ट्रिय स्तरको एक बृहत् विमर्श कार्यक्रम सम्पन्न भएको छ । पर्यावरण साहित्यका अध्येता र यस विषयमा कलम चलाउने लेखक, साहित्यकार, पत्रकार, अभियान्ता र अनुरागीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफूले पर्यावरण साहित्यमा के अध्ययन गरिएको हो, यसमा केकस्ता सिर्जना तथा लेखन गरिएको छ र पर्यावरण साहित्यलाई नेपाली साहित्यमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आआफ्ना विचार व्यक्त गर्नुपर्ने थियो ।

जूम प्रविधिद्वारा सञ्चालन गरिएको यस इको साहित्य गोष्टीमा नेपाल, भारत, बेलायत, अमेरिका, क्यानाडाबाट २७ जना महानुभावहरु जोडिनुभएको थियो । प्रा. डा. गोविन्दराज भट्टराई (काठमाडौँ), ज्ञानबहादुर क्षेत्री (असम), विश्वविमोहन श्रेष्ठ (काठमाडौँ), डा. देवेन सापकोटा (गुवाहटी), डा. देवचन्द्र सुब्बा (सिक्किम), डा. गीता त्रिपाठी (काठमाडौँ), डा. ऋषि बस्ताकोटी (अमेरिका), अनिता पन्थी (काठमाडौँ), विलोक शर्मा (लुधियाना), कमला तामाङ (दार्जिलिङ), प्रेम धामी (काठमाडौँ), डा. तारानिधि भट्टराई (काठमाडौँ), दीपक ढकाल (काठमाडौँ), डा. शिवराज भट्टराई (भुटान), क्षेत्रमान सुब्बा (असम), डा. बलराम अधिकारी (काठमाडौँ), डा. इन्दुप्रभादेवी (असम), डा. सङ्गिता स्वेच्छा (बेलायत), डा. रामहरि पौड्याल (बेलायत), डा. भरतमान श्रेष्ठ (क्यानाडा), रञ्जु पाण्डे (काठमाडौँ), भरतकुमार श्रेष्ठ (बेलायत), ग्याल्बो लामा (दार्जिलिङ), पदमबहादुर श्रेष्ठ (काठमाडौँ), डा. हिमलाल श्रेष्ठ (काठमाडौँ) र विजय हितान (बेलायत) ले आआफ्ना विचार राख्नुभएको थियो ।

आफ्ना मन्तव्यका क्रममा ‘उत्तर आधुनिक विमर्श’ पुस्तकमा इको क्रिटिसिज्मसम्बन्धी एक अध्याय नै लेख्नुभएका कार्यक्रमका प्रमुख वक्ता प्रा. डा. गोविन्दराज भट्टराईले ‘साई फाई’ भनेझैँ पश्चिमा मुलुकमा ‘काई फाई’ (climate fiction) को लेखन सुरु भैसक्यो भन्नुभयो । इको राइटिङको पहिलो कृति साइलेन्ट स्प्रिङलाई उधृत गर्दै बिग्रँदो प्रकृतिलाई जोगाएर मानवीय सभ्यतालाई नै बचाउनु छ भने हाम्रा लेखन मानवीय मात्रै नभएर मानवेत्तर हुन अत्यन्त आवश्यक रहेकोमा जोड दिनुभयो । स्मरण रहोस्, भट्टराई इको राइटिङलाई नेपाली साहित्यमा सैद्धान्तीकरण गर्ने प्रथम व्यक्ति र यस अभियानका मार्गदर्शक हुनुहुन्छ ।

समालोचक ज्ञानबहादुर क्षेत्रीले जलवायु परिवर्तन आन्दोलनकी किशोरी ग्रेथा थुनबर्गलाई सम्झँदै पर्यावरण बिगार्ने तत्वहरुलाई कसरी सुधार्ने भनेर लेखक, साहित्यकारले जानकारी दिनुपर्नेमा आफ्नो मन्तव्य केन्द्रित गर्नुभयो ।

इकोलोजी अध्ययन गरेका डा. शिवराज भट्टराईले आफूले इको निबन्ध लेख्ने गरेको र भुटानले सन् ७०÷८० को दशकमा पर्यावरण संरक्षणमा उल्लेखनीय विकास गरेको बताउनुभयो ।

हालै इको कविताहरुको सङ्गालो ‘परिश्रान्त पृथिवी’ प्रकाशन गरेका तथा पक्षी विज्ञानमा विद्यावारिधि गरेका डा. देवेन सापकोटाले आफ्नो अध्ययनको क्रममा जीवको आन्द्राभुँडीमा पनि जैविक विविधता हुँदोरहेछ भनेर बताउनुभयो । हाम्रा लेखन प्रकृतिको जैविक विविधता जोगाउन प्रोत्साहन गर्ने खालको हुनुपर्छ भनेर जोड दिनुभयो ।

इको थियोलोजीमा विद्यावारिधि लिएका डा देवचन्द्र सुब्बा पर्यावरण साहित्यलाई आफूले परिवेश वा परिवृत्तीय साहित्य भन्ने गरेको बताउनुभयो । इको सिर्जना गर्नतिरभन्दा पनि इको साहित्यउपर समालोचना गर्न रुचाउने सुब्बाले ‘नेपाली कवितामा परिवेश’ पुस्तक अब छिट्टै प्रकाशन हुने पनि बताउनुभयो । अन्तर्राष्ट्रिय स्तरमा नेपाली पर्यावरण साहित्यको बलियो सञ्जाल बनिसकेको र अब क्षेत्रीय स्तरमा पनि सङ्गठन निर्माण गरी यसलाई अघि बढाउनुपर्ने उहाँको सल्लाह थियो ।

‘आधुनिक नेपाली कवितामा पर्यावरणीय चेतना’मा विद्यावारिधि गरेकी डा. गीता त्रिपाठीले आफूले पर्यावरण साहित्यका विभिन्न विषयमा समीक्षा र समालोचना गरिसकेको जानकारी दिनुभयो । इको कविता पनि लेख्न रुचाउने त्रिपाठीले ‘काठमाडौँ’ भन्ने कविता लेखेको र अभिनाश श्रेष्ठको ‘करोडौँ शुर्यको अन्धकार’ कवितासङ्ग्रहमा, ‘पर्यावरण र नारी’ विषयमा, त्यसैगरी ‘नेपाली कथामा पर्यावरण’ इत्यादि विषयमा आफूले समालोचना लेखेको जानकारी दिनुभयो । आफ्नो विद्यावारिधि अध्ययनपत्रलाई पनि अब छिट्टै पुस्तकको रुपमा निकाल्ने र विश्वविद्यालयमा पर्यावरण साहित्य अध्ययन गर्न चाहने विद्यार्थीलाई सन्दर्भसामग्री हुने भनेर पनि बताउनुभयो ।

वन विज्ञानमा मास्टर र पोलिटिकल इकोलोजीमा विद्यावारिधि गरेका डा. ऋषि वास्ताकोटीले सरुभक्तले नेतृत्व गर्नुभएको ‘संरक्षण कविता’ आन्दोलन’मा आफू सुरुदेखिने संलग्न रहेको साथै ‘चेपाङ गाउँमा प्रकृति’ पुस्तक प्रकाशनमा संयोजन गर्नुभएको बताउनुभयो । ‘सिङ्गै धर्ती दुखेझैँ लाग्छ’ शीर्षकको इको कवितामा आफूले वि. सं. २०४६ मा प्रथम पुरस्कार पाएको पनि सम्झना गर्नुभयो ।

माटो विज्ञानमा विद्यावारिधि लिनुभएका र ‘हिमाली संरक्षण समूह’का संस्थापक अध्यक्ष डा. भरतमान श्रेष्ठले विद्यालयस्तरमा वातावरणीय चेतना दिन वक्तृत्वकलाजस्ता विभिन्न कार्यक्रमहरु गरिसकेको बताउनुभयो । ‘फूलबारी’ शीर्षकको इको बाल कथासङ्ग्रह प्रकाशन गरिसकेको बताउँदै श्रेष्ठले विकासमा प्रकृतिवाद हुनुपर्छ भन्ने मान्यतामा जोड दिनुभयो ।

भट्टराईको उत्तर आधुनिक विमर्शबाट आफू प्रभावित भएको बताउँदै उपन्यासकार अनिता पन्थीले ‘अनायोजित’ उपन्यास छिट्टै बजारमा आउँदै गरेको र त्यसभित्र इको साहित्यका विषयवस्तु भएको जानकारी दिनुभयो ।

वनस्पति विज्ञानमा मास्टर, वातावरण विज्ञानमा पोस्ट मास्टर गरेका विलोक शर्माले आफू पेसाको हिसाबले माटोसँग नजिक रहेकाले कृषि विज्ञान साहित्यलाई अगाडि बढाउँदै आफू अनुवादक भएको बताउनुभयो । इको साहित्य एक व्यावहारिक साहित्य भएकाले यसलाई हाम्रो पारम्पारिक साहित्यमा भिœयाउन त्यति सजिलो नहुने पनि बताउनुभयो ।

पोलिटिकल साइन्समा मास्टर गर्नुभएकी कमला तामाङले आफ्ना तीन कवितासङ्ग्रह यसै वर्ष सन् २०२१ मा प्रकाशन गर्दै गरेको र केही इको साहित्यका पुस्तकमा समीक्षा गरेको बताउनुभयो ।

मास्टर डिग्रीमा एनभाएरोमन्टल कृटिसिज्म अध्ययन गर्नुभएका र हाल अङ्ग्रेजी साहित्यमा विद्यावारिधि गर्दै गर्नुभएका प्रेम धामीले जलवायु परिवर्तन र विश्व तापमान बृद्धिजस्ता समस्याबाट आफू चिन्तित रहेको र यस्ता विषयमा कलम चलाउन मन पर्ने बताउँदै डेविट एटनबर्ग र ग्रेथा थुनबर्गबाट अत्यधिक प्रभावित बनेको बताउनुभयो ।

भूगर्भशास्त्र अध्ययन गरी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दै गर्नुभएका डा. तारानिधि भट्टराईले महाभूकम्पपश्चात् जनसाधारणलाई जियोलोजीमा प्रयोग गरिने शब्दहरु आफूले बुझाउन गाह्रो परेको सम्झना गर्दै पर्यावरण साहित्य पनि विज्ञानमा आधारित नौलो साहित्य भएको हुनाले यसको लेखन कसरी गर्नुपर्छ भनेर कार्यशाला गोष्टी राख्नुपर्ने सुझाव दिनुभयो । पुरस्कृत बालकथा ‘सम्पदा र विपद’ प्रकाशन गरिसकेको र अर्को यस्तै बालकथा प्रकाशोन्मुख रहेको पनि जानकारी दिनुभयो ।

वातावरण सञ्चारमा विद्यावारिधि गरी विश्व वन्यजन्तु संरक्षण कोष नेपालमा सञ्चार अधिकृतको रुपमा काम गरिसकेकी डा. सङ्गिता स्वेच्छाले बालबालिकाका लागि संरक्षण साक्षरता कार्यक्रम चलाइसकेको जानकारी दिनुभयो ।

नवीकरणीय ऊर्जामा विद्यावारिधि गरेका अनि ‘बृटिश वेदर’ कथासङ्ग्रहका सर्जक डा. रामहरि पौड्यालले जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा अनि जीवाश्म इन्धन, कार्बन न्यूट्रलजस्ता विषयमा निरन्तर लेखनिबन्धहरु लेख्दै आएको बताउनुभयो ।

अर्थशास्त्रमा मास्टर गरेकी रञ्जु पाण्डेले आमाको गर्भबाट झर्नसाथ वातावरणसँग समीप भएको बताउँदै आफूले सेतु नेपाल संस्थामा आबद्ध रहेर बालबालिका र महिलाहरुबीच वातावरणीय चेतनाका कार्यक्रमहरु ल्याउँदै आएको बताउनुभयो ।

रिमोट सेन्सिङ विषयमा विद्यावारिधि लिनुभएका डा. हिमलाल श्रेष्ठले हिमाली संरक्षण समूहमा आबद्ध रहेर गुराँस, उत्तीस र उन्युघारीका बिम्ब राखेर पचासको दशकमा इको सिर्जना कोरेको सम्झँदै वन डढेलो तथा प्लाष्टिकजन्य फोहोरमैलाले पार्ने असरका बारेमा आफूले लेखिसकेको बताउनुभयो ।

वन विज्ञान अध्ययन गर्नुभएका भरतकुमार श्रेष्ठले नेपालको वातावरण जोगाउने विषयमा आलोचनाहरु मात्रै होइन, वातावरण संरक्षणका लागि मानिसका व्यवहारमा केकस्ता परिवर्तन ल्याउनुपर्छ भन्ने विषयमा साहित्यकारका सिर्जना केन्द्रित हुनपर्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरी वातावरण विज्ञानमा मास्टर गर्नुभएका विजय हितानले सन् २००९ देखि पर्यावरण साहित्यमा कलम चलाउँदै यसलाई मूलधारको नेपाली साहित्यमा भिœयाउने आन्दोलनमा लागिपरेको बताउनुभयो । थकित पृथ्वी, बाग्मती ब्लूज, इको उत्सर्जन, स्वच्छन्द सुसेलीहरु (भाग १ र २) प्रकाशन गरिसकेका हितानले अब छिट्टै आफ्नो इको कथासङ्ग्रह ‘ब्लू प्लानेट’ प्रकाशन हुँदै गरेको सबैलाई जानकारी दिनुभयो । ‘मोती जयन्तीको साथै माटो जयन्ती मनाऔँ, भानु जयन्तीको साथै भालु जयन्ती पनि मनाउने प्रथा बसालौँ । यस्तो गरे प्रकृतिको संरक्षण गर्न सकिन्छ ।’ भन्दै पर्यावरण साहित्यभित्रका लेखनका विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो ।

दुई घन्टाभन्दा बढी चलेको उक्त कार्यक्रमको संयोजक तथा सञ्चालन विजय हितानद्वारा गरिएको थियो । कार्यक्रमलाई मिडिया पार्टनर रेडियो हिमालयले प्रत्यक्ष प्रसारण गरेको थियो ।