नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा ‘लघुकथाको सुगन्ध स्मारिका अंक -२ पछि, संयुक्त सङ्ग्रह दोस्रो कृति “लघुकथाको सुगन्ध” (बाल विषयक लघुकथा) को यही भदौ १२ गते शनिबारका दिन भर्चुअल माध्यमबाट भव्य लोकार्पण गरिने भएको छ ।

लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सम्पन्न हुने सो कार्यक्रममा ममता मृदुल, विद्यानाथ कोइराला, प्रा.डा. विदुर चालिसे, त्रिलोचन ढकाल, श्रेष्ठ प्रिया पत्थर, भूमि लाल शर्मा सुवेदी, डा. विश्वम्भर शर्मा, मणिकुमार पोखरेल, वनमाली निराकार लगायतको पनि विशेष उपस्थिति रहनेछ ।

नेपालभित्र र बाहिर विभिन्न मुलुकहरूमा छरिएर रहनु भएका विभिन्न १ सय ३२ जना लघुकथाकारहरूको २ सय ३० लघुकथाहरू संकलित रहेको सो संग्रह सम्भवत इतिहासकै ठूलो लघुकथा सङ्ग्रह भएको सम्बन्धितहरूको भनाइ छ ।

शनिबार पूर्वान्ह ११ बजेदेखि २ बजेसम्म चल्ने सो कार्यक्रममा सहभागिताका लागि सबै लघुकथा सर्जकहरू, समीक्षक, समालोचक, शोधकर्ता, पत्रकार (छापा, अनलाइन, रेडियो/ टि.भी.) हरूलाई निमन्त्रणा पठाइ सकिएको कुरा संस्थाका सचिव मनोज चौधरीले जानकारी गराउनुभयो ।

मञ्चले हालै १३ औँ लघुकथा दिवसको अवसरमा आफ्नो फेसबुक पेजमा नियमित लघुकथा पोस्ट गर्ने लघुकथाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सोही पेजकी नियमित लघुकथा सर्जक स्व. हेमलता उप्रेतीको सम्मानमा “हेमलता स्मृति लघुकथा सम्मान-२०७८” दिने घोषणा गरिसकेको छ । पुरस्कार मञ्चको वार्षिकोत्सवको दिन लघुकथा सृजनामा योगदान पुर्याउनु भएकाहरू मध्ये १ अग्रज तथा १ अनुज लघुकथाकार गरी २ जनालाई प्रति व्यक्ति नगद रू. ५,५५५/-( पाँच हजार, पाँच सय पचपन्न ) सहित सम्मान पत्रले सम्मान गरिने तथा संस्थाको क्षमताअनुसार सम्मानको नगद राशि र संख्या पनि बढाउँदै लगिने कुरा समितिका अध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी) ले जानकारी गराउनु भयो ।

बि.एन.पुस्तक संसार काठमाडौँ, प्रकाशक रहेको सो संग्रहमा नेपालकै उत्कृष्ट लघुकथाकारहरूका उत्कृष्ट बाल लघुकथाहरू संग्रहित भएकाले हरेक विद्यालय तथा बालबालिका र बाल साहित्यमा चासो राख्ने सम्पूर्णका लागि सङ्ग्रहणीय कृति बनेको मञ्चको दाबी छ ।