लघुकथा समाजले लघुकथाकार डा. रवीन्द्र समीर र सर्वनाम थिएटरलाई लघुकथा सम्मान अर्पण गरेको छ । शनिबार अनामनगरमा आयोजित एक कार्यक्रमका बीच समीरलाई पद्मा–रामचन्द्र लघुकथा सम्मान र सर्वनामलाई पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान अर्पण गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि कथाकार पद्मावती सिंहले सम्मानित व्यक्ति र संस्थालाई सम्मानपत्र र नगदसहित सम्मान गर्नुभएको थियो । १३औं राष्ट्रिय लघुकथा दिवसको अवसर पारेर ती सम्मान अर्पण गरिएको थियो । हरेक वर्ष प्रदान गरिँदै आएको पद्मा–रामचन्द्र लघुकथा सम्मान डा. पुष्करराज भट्टले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको हो । यसमा सम्मानसहित १० हजार १ सय १ रुपैयाँ नगद पनि रहेको छ ।
यसैगरी पहिलो पटक अर्पण गरिएको पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र ब्राह्मणका परिवारले संयुक्त रुपमा स्थापना गर्नुभएको हो । यसमा सम्मानसहित १५ हजार नगद रहेको छ । सो सम्मान सर्वनाम थिएटरकी व्यवस्थापक डा. सावित्री मल्ल कक्षपतिले ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि तथा कथाकार भागिरथी श्रेष्ठ, सम्मानित डा. मल्ल कक्षपति, डा. रवीन्द्र समीरले आफ्ना धारणाहरू राख्नु भएकत्र थियो ।
पहिलो लघुकथाकार भनेर चिनिनु भएका पूर्णप्रसाद ब्राह्मणका सुपुत्र सुरेश शर्माले आफ्नो बुबाले नेपाली साहित्यका गरेको योगदानको कदर गर्दै सम्मान स्थापना गरिदिएकोमा लघुकथा समाजलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । आफ्नो बुबाको प्रचारप्रसार भन्दा पनि नेपाली साहित्यको प्रचारप्रसारका लागि आफूले सम्मान स्थापनामा सहयोग गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै समाजका सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतमले आदी लघुकथाकार पूर्णप्रसाद ब्राह्मणको सम्मान भएको बताउनु भयो । उहाँ यहाँ नभए पनि सम्मान स्थापनापछि भौतिक रुपमै पुनर्जन्म भएको महसुस भएको गौतमले बताउनु भयो । आफ्नै परिवार वा आफ्नै नाममा पुरस्कार र सम्मान स्थापना गर्ने परिपाटी चलिरहेको अवस्थामा श्रीओम श्रेष्ठ रोदनले पूर्णप्रसाद ब्राह्मणको नाममा सम्मान स्थापना गरेर नौलो र प्रशंसनीय कार्य गरेको बताउनुभयो । लघुकथाका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई मात्रै सम्मान गर्ने समाजको अभियानअन्तर्गत डा. रवीन्द्र समिरलाई छनोट गरिएकोमा समाजलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । यसबाट स्रष्टाको मात्रै सम्मान नभएर समाज पनि सम्मानीत भएको उहाँको भनाइ थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।