हेमलता लघुकथा सम्मान २०७८ साहित्यपोष्टका अनलाइन लघुकथा सम्पादक दीपक लोहनीलाई प्रदान गरिने भएको छ ।
कथाकार दीपक लोहनी साहित्यपोष्ट अनलाइन दैनिकमार्फत नेपाली लघुकथाको अध्ययन, अनुसन्धान र खोजी गरिरहेका छन् । उनी साहित्यपोष्टले घोष्टराइटिङको सहकार्यमा हरेक हप्ता सञ्चालित लघुकथा प्रतियोगिताको एक निर्णायक पनि हुन् । कथाकार लोहनीका “दीपक र दीपकहरू” लघुकथासंग्रहसहित कथा र कविताका थप दुई कृति प्रकाशित छन् । दीपक थोरै तर स्तरीय कथा/लघुकथा लेख्ने कथाकारको रुपमा नेपाली साहित्यमा चिनिएका छन् । उनी रेडियो अन्नपूर्ण नेपाल र अर्गानिक लाइफसँग पनि अबध्द छन् ।
पछिल्लो समय लघुकथामा सक्रिय भएकी इलामकी हेमलता उप्रेती प्रकृतिपरक विषयमा लघुकथाहरू लेखी नेपाली लघुकथामा चर्चामा रहेकी थिइन् । विश्वव्यापी कोभिडको महामारीको कारणबाट मृत्युवरण गरेकी हेमलता उप्रेतीको नाममा उहाँका परिवारले स्थापना गरेको “हेमलता लघुकथा सम्मान” हरेक वर्ष लघुकथामा सक्रिय एक स्रष्टालाई नगद रू ११ हजारसहित सम्मानपत्र प्रदान गरिनेछ ।
हेमलता उप्रेतीको १५ औँ पुण्य स्मृति दिनमा सम्मान सिफारिस समितिका सदस्यहरू राजेन्द्र कुँवर, विष्णु उप्रेती र ममता मृदुलले कथाकार दीपक लोहनीलाई सिफारिस गरेका हुन् ।
हेमलता लघुकथा सम्मान २०७८ यही मंसीर १ गते विराटनगरमा एक कार्यक्रम आयोजना गरी वितरण गरिने सम्मान समितिका जेष्ठ सदस्य विष्णु उप्रेतीले साहित्यपोष्टलाई जानकारी दिनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।