२०७५ साल मंसिर १५ गते फोटोपत्रकार कृष्पा श्रेष्ठ र प्रजु पन्त लक्ष्मीप्रसाद देवकोटाको घर कविकुञ्ज, मैतीदेवी पुगेका थिए । उनीहरू दुवै त्यो बेला नागरिक दैनिकको सहप्रकाशन शुक्रबार साप्ताहिक पत्रिकाका लागि रिपोर्टिङ गर्न पुगेका थिए । देवकोटाको घर नजिकै महाकविकी छोरी अम्बिकादेवी रिमालको घर छ । पत्रिकाका लागि रिमालसँग दुवै पत्रकारले लामो कुराकानी गरे ।
कुराकानीका क्रममा रिमालले आश्चर्य व्यक्त गरिन्, ‘कत्ति समयपछि तपाईंहरू देवकोटाको घर हेर्न र खोज्दै आउनुभयो । यस्तो त वर्षौंसम्म कोही पनि आएका थिएनन् । यो नासो सरकारको हो, कसैले हेरिदिए हुन्थ्यो ।’
जब उनीहरूले कुराकानी सके, दुवैलाई देवकोटाको घरभित्र छिर्न हुटहुटी जागिरहेको थियो तर घर छिर्नै लाग्दा रिमालले भुईँ तलामै रोकिन्।
उनले भनिन्, ‘तपाईंहरूलाई घर हेर्ने इच्छा त होला तर घर मक्किइसकेको छ । होस गर्नुपर्छ । म चाहिँ रोगी पनि छु । माथि चढ्न सक्तिनँ । तपाईंहरू ख्याल गरेर जानु होला ।’
महाकविको घरमा यी दुवै युवा पत्रकार पहिलो पटक छिरेका हुनाले मनमा ठूलो उत्साह थियो । दुवैलाई देवकोटाको घर कस्तो छ थाहा पाउनुथियो । तर अम्बिकादेवीले सचेत गराएकाले डराई डराई एक तला माथि उक्लिए।
पत्रकार पन्त भन्छिन्, ‘महाकविको घरको हालत देखेर त्यो दिन मन खिस्रिक्क भयो । सँगैकी साथी कृष्पा पनि दुःखी देखिन्थी । तर मन सम्हाल्यौँ किनभने मान्छे नबसेको घर डरलाग्दो हुनु स्वाभाविक थियो । त्यसमाथि भूकम्पले यो घर थिलथिलो बनाएको थियो । माथिको गेलुवा झर्ला कि जस्तो त्यै बेला देखिएको थियो ।’
कृष्पाले तस्बिर खिच्न केही समय लगाइन् किनभने उनले चित्तबुझ्दो तस्बिर फेला पारिसकेकी थिइनन् । समय लगाएको देखेपछि तलबाट अम्बिकादेवी चिच्याइन्, ‘छिटो झर्नुस् है, किच्ला फेरि !’
‘देवकोटाको निजी शयन कक्ष चाहिँ छिर्न सक्ने अवस्था थिएन । गारो ठाउँठाउँमा चिरिएको थियो,’ पत्रकार प्रजु सम्झन्छिन्, ‘त्यो बेला प्रज्ञा प्रतिष्ठानले भवन पुनर्निर्माण गर्ने प्रस्ताव ल्याएर डिजाइनसमेत देखाएकाले अम्बिकादेवी खुसी देखिनु भएको पाएँ ।’
‘कविकुञ्ज भत्काइएकोमा चौतर्फी विरोध हुँदा घर भत्काउन उपयुक्त थियो वा थिएन हामी पत्रकारले भन्दा पनि इन्जिनियरहरूले सुझाउने कुरा हो,’ पन्त भन्छिन्, ‘प्रतिष्ठानले जब देवकोटाको कविकुञ्ज नै आफ्नो मातहत ल्याउने इच्छा गर्यो त्यो बेला पक्कै पनि इन्जिनियरहरूसँग सल्लाह गर्यो होला । हामी त्यहाँ पुग्दा भूकम्पपछि त्यो घरमा मान्छे बस्न छाडेको देखियो । मान्छेको स्याहार नपाएपछि घर अझ बढी जीर्ण भएको थियो । त्यतिबेला नै जीर्ण र बस्न लायक नरहेको घरलाई शायद रेट्रोफिटले पनि काम नगरेर नयाँ बनाइएको होला ।’
भत्काइँदै गरेको कविकुञ्जको तस्बिरले जब सामाजिक सञ्जालहरूभरि हलचल मच्चियो, प्रजुले ती दिन सम्झिदै भनिन्, ‘भत्काउने निर्णय पहिल्यै भइसकेको थियो । त्यो बेला रोक्न छाडेर अहिले आएर यति हल्ला गर्नुपर्ने थिएन । खासमा देवकोटाको घर नपुगेकाहरूले नै चर्चाका लागि टिप्पणी गरेको देखियो ।’
प्रजुको यो धारणासँग स्थानीयबासी पनि सहमत छन् । सङ्ग्रहालय बन्न लागेकोमा खुसी भइरहेका स्थानीयबासीहरू अनावश्यक विवाद ल्याउन खोजेको भन्दै खिन्न छन् ।
सामाजिक सञ्जालमा पनि स्थानीयबासीहरूको यो खिन्नता प्रकट भइरहेको देखिन्छ । ‘महाकवि देवकोटा कविकुञ्जका सम्बन्धमा’ शीर्षकमा स्थानीयबासी राधा दाहालले लेखेकी छन्, ‘महाकवि देवकोटाले पछि जग्गा किनेर बनाएको (जन्मेको होइन, जन्मेको मूल घर त डिल्लीबजारकै धोबीधारामा सुरक्षित छ) र पछि बस्दै आएको कामनपा वडा नं. ३० मैतीदेवीमा रहेको अत्यन्त जीर्ण घर कविकुञ्ज गुठी संस्थानको स्वामित्व र देवकोटा परिवार मोही रहेको घर हो ।’
उनले लेखेकी छन्, ‘हामी प्रत्यक्षदर्शी छौँ । यो घर भग्नावशेषमा परिणत हुन लागेको थियो । मक्किएर सबै काठहरू कुहेका र काँचो इँटा धुलिएर ढल्नै लागेको अवस्थामा थियो घर । अहिले उही स्वरुपको घर पुनर्निर्माण हुन लागेपछि केही संरक्षण अभियन्ता हुँ भन्नेहरू र केही तथाकथित साहित्यकारहरू भन्ने असामाजिक तत्त्व यसलाई सकेसम्म बन्न नदिन हात धोएर लागेको देख्दा हामी मैतीदेवीवासीहरू आक्रोशित बनेका छौँ ।’
‘हामीलाई थाहा छ, केही राष्ट्रिय स्तरका सञ्चार माध्यहरूले एक वर्षअघि नै यस घरको भित्री–बाहिरी सबै देखाएर यो रेक्ट्रोफिटिङ हुन नसक्ने अवस्थामा छ भन्दै अब यस्तो बन्दै छ सङ्ग्रहालय भनेर प्रस्तावित घरको फोटोसमेत देखाएका हुन् । अहिले तिनै मिडिया घर भत्काएर अर्को बनाउन लागेकोमा केही मानिसलाई बोल्न लगाएर विरोध गरिरहेका छन् । यो विरोध केका लागि हो ? उनीहरू कहाँबाट सञ्चालित छन् ?’
संरक्षण गर्न सक्दा उही घरलाई मर्मत गरेर राख्नु राम्रो हुन्थ्यो तर यो त त्यसो गर्न सकिने अवस्थामा नै थिएन । भत्काउनु बाध्यता हो । यसमा पनि जग्गा प्रशस्त भएको भए त्यसलाई भत्केकै अवस्थामा राखेर त्यसको छेउमा अर्को घर बनाई अवशेष मात्र भए पनि देखाउन हुन्थ्यो । जग्गा कम, बाटो साँगुरो र जग्गाको पनि बीचमा बनेको घर भएकाले कुनै हालमा पनि नभत्काई अर्को घर बन्नसक्ने अवस्था थिएन । अब एक छेउमा उही आकारको घर बनाएर अरु जग्गाको सदुपयोग गर्दा केही मात्रामा भए पनि सहज बन्ने स्थिति बनेको छ । यसका लागि हामी मैतीदेवीबासी नेपाल सरकार र नेपाल प्रज्ञा–प्रतिष्ठानप्रति आभारी छौँ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।