साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कवि रवि रोदन साहित्यपोस्ट दैनिकको सिक्किम सम्पादक नियुक्त

Chovar Blues Mobile Size
रवि रोदन

कवि, आख्यानकार एवं कलाकार रवि रोदन साहित्यपोस्टका सिक्किम राज्यका सम्पादकमा नियुक्त भएका छन् । नेपाली भाषाको एक मात्र साहित्यिक (इ) दैनिकले त्यहाँका पाठकका साहित्यिक सामग्रीको अत्यधिक मागलाई ध्यानमा राख्दै साहित्यकार रोदनलाई स्थानीय सम्पादकमा नियुक्त गरेको हो ।

भारतीय राज्यहरूमध्ये नेपाली भाषा र साहित्यमा धेरै चासो राख्ने पश्चिम बंगाल र सिक्किममा साहित्यपोस्टका पाठक अत्यधिक भएपछि पाठकको रुचिअनुसारका सामग्री प्रदान गर्न रोदनलाई सम्पादकका रुपमा नियुक्त गरिएको हो ।

नेपाली भाषा अत्यधिक बोलिने देशहरूमा नेपालपछि भारत मानिन्छ । भारतका सिक्किम, पश्चिम बंगाल, असम, नागाल्याण्ड, मणिपुर, त्रिपुरा र दिल्ली नेपाली भाषा धेरै बोलिने राज्यहरुमा पर्दछन् । यसबाहेक विभिन्न राज्यहरूमा पनि नेपाली भाषीहरू छरिएर रहेका छन् । भारतीय नेपालीहरूका अनुसार भारतमा एक करोड भन्दा बढी भारतीयहरूको मातृभाषा नेपाली हो ।

‘साहित्यपोस्ट (इ) दैनिक नेपालमा भन्दा भारतमा बढी पढिन्छ । यो हाम्रा लागि सुरुदेखि नै अपत्यारिलो सत्यका रुपमा रहेको थियो । नेपालमा साहित्यिक पत्रिकाका धेरै विकल्प भए पनि भारतमा त्यस्तो विकल्प रहेनछ । साहित्यपोस्टले त्यसको पूर्ति गरेको रहेछ,’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘कवि रोदनको सम्पादकीय कौशलले भारतका थप हजारौँ भाषा र साहित्यप्रेमीहरू साहित्यपोस्ट (इ) दैनिकसँग जोडिने विश्वास लिएको छु ।’

साहित्यपोस्टको स्थापनादेखि नै लेखरचना पठाउने रोदन पोस्टर कविता अभियानका कारण विश्वभरिका नेपालीमाझ लोकप्रिय छन् । विगत एक वर्षदेखि साहित्यपोस्टसँगको सहकार्यमा उनले सयौँ कविका रचनालाई पोस्टर कलाका रुपमा सजाइसकेका छन् । मिलनसार स्वभाव एवं साहित्यप्रतिको रुचिका कारण उनी प्रारम्भदेखि नै साहित्यपोस्टसँग जोडिएका थिए ।

sagarmani mobile size

‘साहित्यपोस्ट (इ) दैनिक विश्वभरिका नेपालीका लागिका लागि गौरवको पत्रिका हो । यसले नेपाली बोल्ने सबैलाई समेटेको छ र कुनै देशको राजनीतिसँग यसलाई सरोकार छैन । यसकारण पनि मलाई यो पत्रिकासँग जोडिनुमा गौरव लागेको हो,’ सम्पादक नियुक्तिपछि रवि रोदनले साहित्यपोस्टसँग भने, ‘अब साहित्यपोस्ट नेपालका नेपालीको मात्र सम्पति रहेन, यो त भारतभरि छरिएका नेपाली र विश्वभरि छरिएर रहेका नेपाली भाषा र साहित्यप्रेमीको साझा सम्पति बनेको छ ।’

उनले आफ्नो बलबुताले भ्याएसम्म साहित्यपोस्टलाई उत्कृष्ट पत्रिका बनाउन प्रयास गरिरहने बताए ।

पेशाले शिक्षक रोदन विज्ञानमा स्नातक हुन् । रोदनको कविता संग्रह ‘समय स्ट्रोक्स’ (२०१५) प्रकाशित छ । हिन्दी र नेपाली दुवै भाषामा कलम चलाउने गरेका रोदनका आख्यान तथा जीवनी पुस्तक प्रकाशनको तयारीमा छन् ।

सन् २०१६ मा साहित्य अकादमीको निम्तामा अल इन्डिया पोएट्री फेस्टिभलमा नेपाली भाषी कविका रुपमा प्रतिनिधित्व गरेका उनले २०१५ यता कफी कविता साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया
Loading...