दुर्गालाल श्रेष्ठ

नेपाल सम्वत अनुसार आज जनकवि दुर्गालाल श्रेष्ठको जन्मदिनको अवसर पारेर अनुसन्धाता आर. मानन्धरद्वारा लिखित उनको जीवनी ‘कवि कथा’ बजारमा ल्याउने घोषणा गरिएको छ ।

श्रावणकृष्ण एकादशीको दिन जन्मेका कवि श्रेष्ठ आज ८६ वर्ष पूरा गर्दै ८७ वर्षमा प्रवेश गरे । यसै अवसरमा श्री दुर्गालाल साहित्य प्रतिष्ठानले बि. सं. २०७८ भित्रै नेपाली भाषामा उनको जीवनी प्रकाशित गर्ने घोषणा गरेको हो ।

‘कवि कथा’ लेखनको अन्तिम चरणमा पुगेको मानन्धरले साहित्यपोस्टलाई बताउनु भयो । सो कृतिको सम्पादन लेखक राजेन्द्र महर्जनले गरिरहनु भएको छ । प्रतिष्ठानका अनुसार सो कृति चित्रमय हुने छ ।
नेपालभाषामा जनकवि श्रेष्ठको जीवनी पुस्तक दुई वर्षअघि (ने. सं. ११३९) नै प्रकाशित भइसकेको थियो । रविन साय्मिले डिजाइन गरेको सो पुस्तक अमेरिका र बेलायतमा रहेका नेवार संगठनहरूको सहयोगमा प्रकाशन गरिएको थियो । सो पुस्तक बन्दाबन्दीका कारण विमोचन गर्न सकिएको थिएन । परिस्थिति अनुकुल भएमा दुवै भाषाका पुस्तक एउटै समारोह गरी विमोचन गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।