नेपाल स्रष्टा समाजले आगामी २०७८ माघ २९ गते शनिबार वरिष्ठ आख्यानकार परशु प्रधानको राष्ट्रिय अभिनन्दन गर्ने निर्णय गरेको छ।

विसं २००० साल माघमा भोजपुरमा जन्मनुभएका प्रधान सुरुमा शिक्षा र त्यसपछि लामो समयसम्म नेपाल सरकारको प्रशासनिक सेवामा रहेर गत दुई दशकदेखि अवकाशप्राप्त तर साहित्यमा सक्रिय जीवन बिताई रहनुभएको छ।

उहाँका दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्। सोह्र वर्षको उमेरमै “जीवन पथ” नामक कविता कृतिबाट साहित्यमा उदाउनु भएका प्रधान त्यसपछि लगातार कथा तथा उपन्यासमा देखिनु भयो। विसं २०२४ मा युवा अवस्थामै प्रकाशित सबै बिर्सिएका अनुहार उहाँको पहिलो चर्चित उपन्यास हो। उहाँका नौ कथा सङ्ग्रह, छवटा बालसाहित्य, चार उपन्यास र अन्य विविध विधाका कृति प्रकाशित छन्।

उहाँले नेपाली साहित्यको विकासका निम्ति देशका विभिन्न स्थानमा साहित्यिक संस्थाको स्थापना तथा तिनको सञ्चालनमा योगदान दिनुभएको छ । नेपाल स्रष्टा समाज पनि उहाँकै अग्रसरतामा स्थापित संस्थामध्ये एक हो।

नेपाल स्रष्टा समाजले एक निर्णय गरी यसका सबै सदस्य स्वत: सदस्य रहने गरी परशु प्रधान राष्ट्रिय अभिनन्दन मूल समारोह समितिको गठन गरेको छ।

मूल समारोह समितिको कार्यकारी समितिमा अध्यक्ष विधान आचार्य अध्यक्ष, उपाध्यक्ष श्रीओम श्रेष्ठ रोदन, सदस्यसचिव र कार्यसमितिका सदस्य विनोद नेपाल कोषाध्यक्ष रहनुभएको छ ।
कार्यसमितिका महासचिव पुष्पा खनाल, कोषाध्यक्ष नवराज अवदोषी, सचिव जानु धिताल, सदस्यहरू देविका तिमिल्सिना, डा पुष्करराज भट्ट, नवराज पुडासैनी ज्योत्स्ना, लेखजङ्ग खत्री, रश्मि रिमाल, सुमन घिमिरे वर्षा र सुमन थापा सङ्गम सदस्य रहनुभएको छ।

यसका साथै समाजका सल्लाहकारहरू माया ठकुरी, नगेन्द्रराज शर्मा, चण्डीप्रसाद श्रेष्ठ, पुष्पप्रसाद लुइँटेल, तथा संरक्षकसमेत रहनु भएका पवन आलोक सो अभिनन्दन समारोह मूल समितिको सल्लाहकार रहनुभएको छ।

आवश्यकताअनुसार विभिन्न उपसमिति गठन गर्ने तथा समाजका सदस्यबाहेक विशिष्ट साहित्यकारलाई समेत परशु प्रधान राष्ट्रिय अभिनन्दन समारोह मूल समितिमा समाजले समेट्दै जानेछ संस्थाद्वारा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।