युवा स्रष्टा हर्कबहादुर लामगादे ‘रोहित’को ‘मन बल्झिन्छ’ नामक कविताकृतिको भर्चुअल लोकार्पण आइतबार सम्पन्न भयो । रोहितको यो पहिलो कृति हो ।

नेपाली साहित्य परिषद मणिपुरका अध्यक्ष भवानी अधिकारीको अध्यक्षता तथा आसामका वरिष्ठ साहित्यकार नव सापकोटा, त्रिविका प्राध्यापक महेश पौड्याल, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, सनातन संस्कृत विद्यालय मणिपुरका प्रधानाचार्य शङ्कर खतिवडा, जिबिकेवाईओएमका सल्लाहकार कृष्णलाल रामुदामुको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा अनुष्का एवं सुस्मिताले सरस्वती बन्दना गर्नुभएको थियो भने नेपाली साहित्य परिषद् मणिपुरका सहसचिव होमनाथ चापागाईंले स्वागत सम्बोधन गर्नुभएको थियो । यसैगरी परिषद्का सचिव दीपक पन्थले मणिपुरका सबै साहित्यिक संस्थाहरूले नवोदित युवा स्रष्टाहरूलाई मार्गदर्शन गर्दै अगाडि बढ्ने प्रेरणा दिनुपर्ने बताउनुभएको थियो ।

कविता संग्रहको समीक्षा साहित्यकार पं. रामप्रसाद पौड्यालले गर्नुभएको थियो ।

कार्यक्रममा मणिपुरस्थित त्रिपुरा केन्द्रीय विश्वविद्यालयका उपकुलपति प्राध्यापक गंगा प्रसाईं, डा. टंकनाथ खतिवडा, दुर्गा शर्मा, लोकबहादुर बस्नेत, अशोक चौरासिया, मोहन कार्की, मुक्ति गौसम, गोमा शर्मा, विलोक शर्मा, नितेश दवाडी, शुकराज दियाली, भोलानाथ शर्मा, लोकबहादुर बस्नेत, खेमानन्द सापकोटा, भीम कोइराला, रीता सिंह, विशाल केसी, खेमानन्द खतिवडा, हरिदास बस्नेत, सीताराम अधिकारी, सीतादेवी छेत्री आदि विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।

अखिल मणिपुर गोर्खा विद्यार्थी संगठन, नेपाली संस्कृति सुरक्षा परिषद् मणिपुर, गोर्खा ज्योति प्रकाशन, हाम्रो स्वाभिमान ट्रस्ट, एकल अभियान, राष्ट्र सेविका समितिको समेत प्रतिनिधित्व रहेको सो कार्यक्रममा सुरज चापागाईं, रोशन दियाली, विलोक शर्माले रचना पाठ गर्नुभएको थियो ।

कार्यक्रममा वसन्ती देवी पौड्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा मुक्ति बरालले धन्यवाद ज्ञापन गरी कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।