नेपाली साहित्यमा नवउदीयमान लेखक उत्तम निरौलाको उपन्यास ‘सखिला’लाई गएको शनिबार काठमाडौँमा विमोचन गरियो ।
वरिष्ठ साहित्यकार पद्मावती सिंह, श्रीओम श्रेष्ठ रोदन, शङ्कर भारती तथा वृन्दादेवी निरौलाले सो उपन्यासलाई संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।
उपन्यासका सम्पादक तथा प्राध्यापक डा. प्रकाश तिवारीले उपन्यासबारे प्रकाश पार्नु भएको थियो । सत्यकथामा आधारित रहेर नेपाली छोरीहरूको प्रतिनिधित्व यो उपन्यासले गरेको डा. तिवारीको भनाइ थियो ।
उपन्यास प्रमुख पात्र सखिलाको आत्मवृतान्त मात्रै नभएर नेपाली समाजका हरेक छोरीले भोग्नुपर्ने समस्यालाई निखनेर समाधानको बाटो निकालिदिएको डा. तिवारीको टिप्पणी थियो । यो उपन्यासले हरेक छोरीलाई प्रेरणा प्रदान गर्ने उहाँको भनाइ थियो ।
वरिष्ठ साहित्यकार पद्मावती सिंहले एउटी नारीका बारेमा स्रष्टाले कलम चलाउनु नेपाली नारीहरूकै निम्ति गौरवको विषय भएको टिप्पणी गर्नुभयो । अनेक उत्पीडनमा विभिन्न समस्या झेलिरहेका नेपाली नारीहरूप्रति सखिलाले पक्कै पनि न्याय गरेको आशा उहाँको थियो ।
गोर्खापत्रका पूर्व प्रधानसम्पादक तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठले `फेसबुकमा भेटेकी बहिनीको नाममा यसरी एउटा कृति नेपाली साहित्यलाई पस्किनु उत्कृष्ट काम भएको टिप्पणी गर्नुभयो । ‘भाग्यमानी रहिछन् सखिला जसले शरीर छोडेर पनि फेरि जन्मने अवसर पाइन्,’ साहित्यकार रोदनको भनाइ थियो ।
नेपाली उपन्यास समाजका अध्यक्ष शंकर भारती तथा विदुषी वृन्दादेवी निरौलाले लेखकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
लेखक उत्तम निरौलाले आफ्नो पहिलो कृति ‘दृष्टिकोण’को तेस्रो संस्करण बजारमा आउन लागेको जानकारी दिनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।