
कथाकार शशी थापा पण्डितको कथाकृति ‘उठ तिलोत्तमा’को विशेष परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
कथाकृति माथि बोल्दै वरिष्ठ आख्यानकार पुष्कर लोहनीले शशीका कथाले समाजका नयाँ पाटाहरुलाई उद्घाटन गरेको बताए । यस्तै आख्यानकार नयनराज पाण्डेले शशीको कथा लेखन शैलीबाट आफु पनि प्रभावित भएको बताउँदै शशाीले पात्रमाथि न्याय गरेको बताए ।
कार्यक्रममा बोल्दै साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले भने – ‘शशीको लेखन स्तरले वर्तमान नेपाली साहित्यको इज्जत जोगाएको जोगाएको छ । अहिलेको फेसबुके साहित्यले बजार लिएका कारण स्तरीय साहित्यको अभाव भइरहेका बेला शशीको कथा संग्रहले आशा जगाएको छ ।’
यस्तै समालोचक डाक्टर सावित्री मल्ल कक्षपतिले कथाकार शशीले नेपाली महिलाको अवस्थामाथि बेजोड कथा लेखेको बताइन । उनले महिला समानताका लागि महिलाले नै कलम जलाउनु पर्ने बताइन ।
कथाकार शशी थापा पण्डितले समाज र समुदायको गहन अध्ययन गरेर मात्रै आफुले कथा लेखेको बताउँदै उनले कथा लेख्नकै लागि विषयवस्तु खोज्दै गाउँगाउँ डुलेको अनुभव समेत सुनाएकी थिइन ।

शशी थापा
वरिष्ठ आख्यानकार पुष्कर लोहनीको प्रमुख आतिथ्यता र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा साहित्यकार एवं सभाअध्यक्ष राधेश्याम लेकाली र सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा साहित्यकारहरु नेत्र एटम, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास (नेपाली च्याप्टर) का अध्यक्ष सन्ध्या पहाडी , उपाध्यक्ष प्राज्ञ बाबा बस्नेत, साहित्यकारहरु महेश प्रसाईं, प्रतीक ढकाल, रामप्रसाद पन्त, डा।शान्ति गिरि, लव गाउले, ठाकुर वेलबासे, यादव भट्टराई, दीपक लोहनी, प्रकाश घायल, मन्दिरा मधुश्री, एलिशा ढुंगाना , रुपा पौडेल, राजु बस्नेत, सुमन बैरागी, तीर्थ थापा लगायतको उपस्थिति रहेको थियो ।
अनामनगर स्थित डालो रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा कथाकार शशी थापा पण्डितलाई सम्मान गरिएको थियो । कार्यक्रम साहित्यिक पत्रकार संघको आयोजनामा भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 








