नेपाली साहित्य समाज क्यानडाको भर्चुअल कविता वाचनको सत्रौँ कार्यक्रम जुलाई २५ आइतबारका दिन सम्पन्न भयो । क्यानडाका विभिन्न सहरबाट उपस्थित कविहरूले कार्यक्रममा कविता, गीत, गजल र मुक्तक वाचन गरेका थिए। संस्थाका महासचिव मोहन खरेलको सञ्चालनमा शुरु भएको कार्यक्रमको सभापतित्व अध्यक्ष खेम गुरागाईंले गरेका थिए।

भ्यानकुभरका कवि राजेन्द्र कार्कीको “गुरु भक्ति” शीर्षकको कविताबाट कार्यक्रमको शुरु भएको थियो। कवि मोहन खरेलको गजलले विदेशिनुको पीडा र बाकसमा फर्किने लाशको मार्मिक भाव पोखेको थियो।

युवराज भन्डारीले गाएर गजल प्रस्तुत गरेका थिए भने कुसुमाकर शर्माले भैरव अर्यालका विभिन्न टुक्का कविताहरु जोडेर रोचक हिसाबले अहिलेको समयसँग मिल्ने गरी सुनाएका थिए। पारु पाण्डेको “मेरो देशको माटो” शीर्षकको छोटो कविता, गोविन्द सिंह रावतको “महिला”, मुक्ति गौतमको “उनको मृत्युको शोकमा”, खेम गुरागाईको “जिन्दगीका घानहरू”, पुण्यसागर मरहट्टाको “जय देश”, तुलसी धरेलको “मानहरू”, रविन थपलियाको “सिथिल शब्दहरू”, राजन प्रसाद पोखरेलको “तिम्रो स्वर्णिम सपनामा” शीर्षकका कविता र शशी तिमिल्सिनाले दुई वटा छोटा र चोटिला कविता सुनाएका थिए।

संस्थाले गाईजात्राको अवसर पारेर आउँदो अगस्ट २३ तारिखका दिन टोरण्टोमा हाँस्य व्यङ्ग्य कविता वाचन तथा साहित्य समाज ११ र समाजसेवी ११ का बीचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

२०२२ जुलाईमा नर्थ अमेरिकाव्यापी कवि सम्मेलन क्यानडाको प्रसिद्ध झरना “नायग्रा फल्स”मा सम्पन्न गर्नको लागि संस्थाक पूर्वअध्यक्ष गोविन्द सिंह रावत र तुलसी धरेललाई तयारीको जिम्मा दिइएको छ।
अन्त्यमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति खेम गुरागाईंले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए।

साहित्य समाजले नियमित रूपमा ई-बुलेटिन निकाल्ने योजना बमोजिम प्रथम अङ्क प्रकाशित गरेको छ। पढ्नका लागि यस लिङ्कमा जानुहोला।

मुक्ति गौतम