ममता मृदुलको सम्पादन रहेको लघुकथासङ्ग्रह सौन्दर्यमा आमा लघुकथा समाज नेपालले एक कार्यक्रमका बीच विमोचन गरिएको छ । सौन्दर्यमा आमा १ सय १२ जना कथाकारहरूका आमासँग सम्बन्धित एक एक लघुकथाको सङ्ग्रह हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएका गोपाल अश्कले आमालाई केन्द्रमा राखेर लेखिएको फरक स्वादका लघुकथाहरू भएकोले सबैले मन पराउने धारणा राख्नुभयो ।

वरिष्ठ साहित्यकार तथा नाट्यकर्मी अशेष मल्लले विराटनगरबाट थोरै लघुकथाकारले तीसका दशकमा लघुकथा लेखेको सम्झदै हाल विराटनगरकै स्रष्टाहरूले लघुकथामा यो कृति प्रकाशन गरेकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले आमा सबैको लागि सधैँ प्रिय रहिरहने भाव व्यक्त गर्नु भयो ।

त्यस्तै, ममता मृदुलले गर्भ र गर्वको कुरा जोड्दै भन्नुभयो, “आमाको गर्भमा दश महिना बसेर बाहिर आएपछि आमालाई कुमाता भन्दै हिँड्ने कुपुत्रहरू पनि छन् । आमाले कहिल्यै कुपुत्र जन्माउँदिनन् । आमा जस्ती भए पनि कुमाता हुन सक्दिनन् ।”

समालोचक प्राडा. लक्ष्मण गौतमले पनि आमाको बारेमा संयुक्त लघुकथासङ्ग्रह प्रकाशित भएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालन लघुकथा समाजका महासचिव तुलसीहरि कोइरालाले गर्नुभएको थियो । अनामनगरमा सन्चालन गरिएको विमोचन कार्यक्रममा बीस जना लघुकथाकारहरूको उपस्थिति रहेको थियो ।